भक्तपुर, १ असोज : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण बलराम अधिकारीले नेपाल ट्रष्टको नाममा रहेका जग्गाहरु संरक्षण गर्न खोजी कार्यको थालनी गरेको बताउनु भएको छ ।
आज भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको १०८ रोपनी जग्गाको स्थलगत निरीक्षण गर्दैे सरकारले नेपाल ट्रष्टको स्वामित्वमा रहेका जग्गाहरु संरक्षणका लागि देशभर रहेका जग्गाहरुको खोजी कार्य गर्दै त्यसको संरक्षण कार्य सुरु गरेको बताउनुभयो ।
मन्त्री अधिकारीले भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप मावि, ख्वप कलेज, ख्वप कलेज अफ ल, ख्वप अस्पताल, ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको पनि अवलोकन गर्नुभई त्यहाँको भौतिक अवस्थिति र शैक्षिक विशेषताहरुबारे जानकारी लिनुभयो ।
मन्त्री अधिकारीले भक्तपुर दरबार क्षेत्रस्थित सांस्कृतिकएवम् ऐतिहासिक महत्वका सम्पदाहरुको पनि अभिरुचिपूर्वक अवलोकन गर्नुभएको थियो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मन्त्री अधिकारीसंग जनताको सुख, दुःखसँग सबैभन्दा नजिकको सरकार स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनु पर्ने बताउनुभयो ।
विश्वविद्यालय सञ्चालनको लागि आवश्यक भौतिक पूर्वाधारहरु निर्माणमा भक्तपुर नगरपालिकाले जोड दिँदै आएको बताउँदै उहाँले नगरपालिका विश्वविद्यालय सञ्चालन गर्न सक्षम रहेको बताउनुभयो ।