भक्तपुर, १२ असोज ः अविरल परेको वर्षाका कारण भक्तपुर जिल्लाका १५ वटा टोलबस्ती डुवानमा परेका छन् । बिहीबार रातिदेखि परेको अविरल वर्षा र हनुमन्ते खोलमा आएको बाढीका कारण यहाँका बस्तीहरु डुवानमा पर्दा करोडौको क्षति भएको छ । मध्यपुरथिमि नगरपालिका राधेराधे क्षेत्र पूर्ण रुपमा डुबानमा परेको छ । कमेरोटार जग्गा एकिकरण आयोजनाले हालेको सानो ढलमा नगरपालिकाले सिन्टिटार, बोडे, निकासेरन, बाहखाबजारलगायतको ढल मिसाईदिए पछि ढल फुटेर बस्तीमा पसेको थियो ।
आज बिहान ७ बजेपछि हनुमन्ते खोलाको बहाब करिडोर पार गरेर बस्तीमा पसेपछि मध्यपुरथिमि नगरपालिका राधेराधे क्षेत्रको वडा नं. ५ संगम कोलोनी, वडा नं. ९ को राधेराधे क्षेत्र पूर्ण रुपमा डुबानमा परेको छ । यहाँका करिब ५०० घरभित्र पानी पसेर सयौ परिवार विस्थापित भएका छन् भने भुईतलाका सम्पूर्ण सामानहरु डुबेर क्षति पुर्याएको छ । सयौं पसल भित्र सात फिटसम्म पानी पर्दा करोडौको सामानहरु क्षति पुगेको छ । राधेराधेबाट भाटभटेनी क्षेत्र राधेराधे निकोसेरा सडक क्षेत्रमा पाँचफिट उचाईसम्म पानी पुगेपछि यातायात अबरुद्ध भएका छन् भने व्यापारिक निकाय ठप्प भएका छन् ।
बिहान ८ बजे आएको शसस्त्र प्रहरीको टोलीले राधेराधे क्षेत्रमा उद्धार कार्य जारी राखेको छ । यस क्षेत्रमा रहेका करिब १०० घर परिवार सुरक्षित स्थानमा सरेका छन् भने कतिपय आफन्तकोमा र कतिपय होटलमा गएको स्थानीय प्रदीप कार्कीले जानकारी दिनुभयो । यहाँको अबस्था भयाभव भएको छ । मध्यपुरथिमिकै मनोहरा खोला र हनुमन्ते खोलाका आएको बाढीका कारण मनोहरा बस्ती पूर्ण रुपमा डुबानमा परेको छ । जडिबुटीस्थित सुकुम्वासी बस्ती पूर्ण रुपमा डुबानमा परेको छभने जडिबुटी आँखा अस्पताल क्षेत्रको बस्ती समेत डुबानमा परेको छ ।
त्यस्तै भक्तपुरको हनुमन्ते खोलाले ग्याँसको बुलेट बगाएको छ । भक्तपुरतर्फबाट बगाएर ल्याएको बुलेट गाडी बाढीमा बग्दै गर्दा ग्याँस लिक भएर चुहिँदै बुलेट बगेको पछि स्थानीयहरु त्रसित बनेका छन् । वर्षाका कारण भनपा–६ भीमसेनस्थानमा रहेको सिद्धिस्मृति अस्पतालमा पानी पस्दा सबै सेवा नै बन्द भएको छ । भक्तपुरको सिद्वीस्मृति अस्पताल डुवानमा परेपछि बिरामीलाई उद्वार गरि अन्यत्र अस्पताल पठाउन नेपाली सेना सहितको सुरक्षा टोली बोटसहित परिचालन गरिएको छ । इवामुरा अस्पतालमा पनि पानी पसेर आकस्मिक लगायतका सेवाहरु प्रभावित भएका छन् ।
भक्तपुरको सूर्यविनायक राममन्दिर, टुरिजम मार्केट, हनुमानघाट, लिवालीका भित्री क्षेत्र, बाराहीस्थान, जगाती क्षेत्र रुपमा डुबानमा परेका छन् । त्यहाँका विद्यालय, व्यापारिक केन्द्र र बस्तीहरु डुबानमा पर्दा लाखौको क्षति भएको छ । त्यस्तै सूर्यविनायक क्षेत्रको सूर्यविनायक वडा नं. २ स्थित गोदावरी खोला किनारका बस्ती र घरमा पानी पस्दा भक्तपुरको बालकोट र ललितपुर महालक्ष्मी नगरपालिकाको सिमानाका क्षेत्रहरु पूर्ण रुपमा डुबानमा परेका छन् । त्यस क्षेत्रका पशुपक्षी बगाएको छ ।
सूर्यविनायक –१० को भंगालमा गणेश दुलाल र भरत दुलालको घर पहिरोले पुरिएर चौपाया समेत पुरिएपछि मानवीय क्षति रोक्न प्रहरीको उद्धार टोली पुगेको छ । भक्तपुरको पलांसे नजिकै पहिरो गएपछि अरनिको राजमार्ग अवरुद्ध भएको छ । सूर्यविनायक नगरपालिका–५ गडेधारा टोलमा स्थानीय घट्टेखोला पस्दा ४० घर पुबानमा परेको छन् । एक महिना अगाडि परेको वर्षाका कारण पनि डुबानमा परेर लाखौको क्षति भएको यस क्षेत्रमा राती १ बजेदेखि डुबानमा परेर स्थानीयले घर छाडेर आफन्तको पुगेका छन् । यस क्षेत्रमा लाखौको क्षति भएको स्थानीयवासी एवं गैरसरकारी संस्था महासंघ भक्तपुरकी अध्यक्ष अनिता पाण्डेले जानकरी दिनुभयो ।
मोर्डन चोकमा घट्टेखोलाको पानी पसेर अधिकारी टोलमा र हिनचोक टोलमा लगभग ३० घर डूबनामा परेको छ । दधिकोट तर्खगाल स्थित नांग्गे पाखाबाट पहिरो आउँदा थिमि, गाम्चा र तर्खगालको सडक अबरुद्ध भएको छ । हनुमन्ते खोलाको बाढी पसेर मथिनपा ३ चारदोवाटोमा रहेको अन्नपुर्ण तरकारी बजार र मथिनपा ३ कौशल्टारमा रहेको सागबारी टोल डुबानमा परेको छ । सुनपा–२ कौशलटारबाट बालकोट जाने बाटोमा फर्निचर कारखानामा नौ जना मानिस फसेपछि सशस्त्र प्रहरी बल नेपाल नं २२ गण दुवाकोटको टोलीले उद्दार गरेको छ । उद्धारमा नेपाली सना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोली जिल्लभरि खटिएको प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले जानकारी दिनुभयो ।त्यस्तै बालकोट नयाँ बस्ती, हनुमन्ते खोला आसपासका बस्ती पूर्ण रुपमा डुबानमा परेका छने । कतिपय भुईतलाका मानिसहरु उद्धारको पर्खाइमा छन् ।
बर्षाको कारण चाँगुनारायण नगरपालिका–६ नगरकोट बाख्री गाउँमा तेलकोट देखि बाख्री गाउँहुदै नगरकोट जाने बाटोमा पहिरो जादा हरिगुरु मार्ग पुर्ण रुपले अबरुद्ध भएको । भक्तपुर नगरकोट सडक समेत पहिरोले अबरुद्ध भएको छ । प्रमुख जिल्ला अधिकारी श्रेष्ठले धेरै ठाउँ डुबानमा परेको र पहिरो गएको जानकारी आइरहेकाले सुरक्षाका सबै निकाय पचिालन गरि उद्धारका खटिएको जानकारी दिदै क्षतिको विवरण पनि संकलन कार्य जारी रहेको बताउनुभयो ।