भक्तपुर, १४ असोज।
सूर्यविनायक नगरपालिकाले गत शनिवारको पहिरोमा परेर ज्यान गुमाएका पाँच जनाको परिवारलाई जनही एक लाखका दरले राहत रकम उपलब्ध गराउने भएको छ।
गत शनिवारको पहिरोमा परेर सूर्यविनायक–९ पलाँसे बस्ने नौ महिनाकी गर्भवती २४ वर्षीया दमिला शाही, बमकी चार वर्षीया छोरी रिया बम र साली १४ वर्षीया मनिषा शाही र सोही वडाको पाटी भञ्ज्याङ नैचालका ३७ वर्षीया मनु तामाङ र ५० वर्षीया मसली तामाङको ज्यान गएको थियो।
अविरल वर्षापछि गत शनिवार गएको बाढी तथा पहिरोले पुर्याएको क्षतिबारे अध्ययन एवं निरीक्षण गर्न सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाको नेतृत्वमा उपप्रमुख सरिता भट्टराई तिमिल्सिना, वडा नं १ देखि १० सम्मका वडाध्यक्षहरू, पूर्वाधार शाखा प्रमुख जनक न्यौपाने, प्राविधिक टोलीसहित इञ्जिनियरलगायत कर्मचारी टोलीले आज नगर क्षेत्रभित्रका बाढी, पहिरोका विपदग्रस्त क्षेत्रको अध्ययन अनुगमनपछि नगरपालिकामा आएर राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो।