==========================================================
नगर प्रमुख थापाले भन्नुभयो, “परिहोमा परेका मृतक परिवारलाई नगरपालिकाको तर्फबाट एक–एक लाख गरि पाँच लाख रुपैयाँ मृतक परिवारलाइ राहत रकम उपलब्ध गराउने निर्णय गरेका छौँ, घाइतेको भक्तपुर अस्पतालमा निःशुल्क उपचार भइरहेको छ । आवश्यकता अनुसार सहयोग र राहत प्रदान गर्छौ ।”
===========================================================
भक्तपुर, १५ असोज : सूर्यविनायक नगरपालिकाले गत शनिवारको पहिरोमा परेर ज्यान गुमाएका पाँच जनाको परिवारलाई जनही एक लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराउने भएको छ ।
गत शनिवारको पहिरोमा परेर सूर्यविनायक–९ पलाँसे बस्ने नौ महिनाकी गर्भवती २४ वर्षीया दमिला शाही, बमकी चार वर्षीया छोरी रिया बम र साली १४ वर्षीया मनिषा शाही र सोही वडाको पाटी भञ्याङ्ग नैचालका ३७ वर्षीया मनु तामाङ र ५० वर्षीया मसली तामाङको ज्यान गएको थियो ।
अविरल वर्षापछि गत शनिवार गएको बाढी तथा पहिरोले पुर्याएको क्षतिबारे अध्ययन एवं निरीक्षण गर्न सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाको नेतृत्वमा उपप्रमुख सरिता भट्टराई तिमिल्सिना, वडा नं. १ देखि १० सम्मका वडाध्यक्षहरु, पूर्वाधार शाखा प्रमुख जनक न्यौपाने, प्राबिधिक टोलीसहित इन्जिनियरलगायतका कर्मचारीहरु टोलीले आज नगर क्षेत्रभित्रका बाढी पहिरोका विपतग्रस्त क्षेत्रको अध्ययन अनुगमन पछि नगरपालिकामा आएर राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
नगर प्रमुख थापाले भन्नुभयो, “परिहोमा परेका मृतक परिवारलाई नगरपालिकाको तर्फबाट एक–एक लाख गरि पाँच लाख रुपैयाँ मृतक परिवारलाइ राहत रकम उपलब्ध गराउने निर्णय गरेका छौँ, घाइतेको भक्तपुर अस्पतालमा निःशुल्क उपचार भइरहेको छ । आवश्यकता अनुसार सहयोग र राहत प्रदान गर्छौ ।”
उहाँले तत्काल पहिरो रोकथामका लागि तारजाली, प्लाष्टिकलगायतका सामग्री उपलब्ध गराउने र थप राहतका लागि सम्बन्धित निकायमा पहल गरिने बताउनुभयो ।
विद्युत तथा टेलिफोन बिच्छेद भएका ठाउँमा सूचारु गर्न लगाएको बताउदै उहाँले सडक मर्मत एवं पहिरो पन्छाउने कार्य आइतबारबाट नै सुरु भएको बताउनुभयो ।
नगरप्रमुख थापाले भन्नुभयो, “हामी अहोरात्र खटिएर भएपनि एक साता भित्र सबै सडकहरुमा यातायात सञ्चालन गर्नेछौँ, त्यसका लागि सबै सडकमा डोजर लगाएर पहिरो पन्छाउने कार्य भइरहेको छ । एकसाता भित्र भक्तपुर र काभ्रेसंग जोडिएका सबै सडक सूचारु गर्न सबै वडाध्यक्षहरुलाई निर्देशन दिएको छु, हामी सबै मिलेर छिटो भन्दा छिटो नगरलाई सहज अबस्थामा फर्काउछौँ ।”
तत्काल सडक खुलाउने, यातायात र आवतजावत सहज बनाउने, पहिरो पन्छाउने, घरमा पुगेको क्षतिहरुको अबस्था र सहयोग पुर्याउने, पहिरो रोकथामका लागि आवश्यक सामग्री वितरण गर्ने काम सुरु गरिसकेको बताउदै उहाँले दीर्घकालिन रुपमा तीन तहकै सरकारको बजेटले पुर्ननिर्माण गर्ने उहाँले बताउनुभयो ।
नगरपालिकाले निर्माण गरेको शिव शर्किट मात्रै होइन, यहाँका थुप्रै पर्यकटीयस्थलहरु घ्याम्पेडाँडा, रानीकोट, अनन्तलिङेश्वर भ्यू टावर, माने भञ्याङ्ग, आशापुरी, नैचाल जाने मुख्य नाकाहरु पहिरोले बन्द भएको छ । बाढी पहिरोले आवास, सडक, पुल लगायतका भौतिक संरचनामा पनि नोक्सानी पुर्याएको र पुर्ननिर्माणका लागि करोडौ बजेट खर्चिनु पर्ने अबस्था आएको नगर प्रमुख थापाले बताउनुभयो ।
नगरपालिकाका उपप्रमुख भट्टराईले सिंगो स्थानीय सरकार गाउँ गाउँ पुगेर क्षतिको अबस्था जानकारी लिएको बताउदै जनताले स्थानीय सरकारको अनुभूति गर्ने गरि नगरपालिकाले आफ्नो काम सुरु गरिसकेको बताउनुभयो । नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष रबिन्द्र सापकोटाले नगरपालिकाले सबै वडाबाट वडागत रुपमा नै क्षतिको विवरण संकलन गरिसकेको बताउदै सोही अनुरुप अत्यावश्यक कामको थालनी गरिसकेको बताउनुभयो ।
उहाँले पहिरोले अवरुद्ध सडक स्काभेटर प्रयोग गरि खुलाउने काम भईरहेको, पुरिएका खानेपानीको महुानहरुको संरक्षण थालनी गरिने, बाढी र पहिरोका कारण कुनै पनि संक्रमणजन्य रोगको महामारी फैलिन नदिन सर्तकता अपनाउने, त्यस्तो भएमा नगर अस्पतालमा उपचार गरिने प्रवक्ता सापकोटाले बताउनुभयो ।