१३ कात्तिक, काठमाडौं ।
भारतीय वायुसेवा कम्पनीका विमानमा बम रहेको भन्दै गलत सूचना दिएको आरोपमा भारतीय प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
न्यूज१८ इण्डियाले उल्लेख गरेअनुसार, नागपुर प्रहरीले भारतको महाराष्ट्र प्रदेशका ३५ वर्षीय जगदिश उन्केलाई पक्राउ गरेको हो ।
नागपुर प्रहरीको स्पेशल ब्रान्चले बमको झुठो खबर दिँदै आएका इमेल उनीसम्म ट्रेस भएको बताएको छ । पक्राउ परेका जगदिशले २०२३ जुलाई ५ मा ‘आतंकवाद एक तुफानी राक्षस’ नामक किताब समेत लेखेका थिए ।पुस्तकबारे व्याख्या गर्दै उनले यसमा आतंकवादलाई जरैदेखि सक्ने उपायबारे लेखेको बताएका थिए ।
हिन्दी भाषामा लेखिएको उनको पुस्तक अंग्रेजीमा पनि अनुवाद भएको छ ।भारतीय सञ्चारमाध्यमहरुका अनुसार, महाराष्ट्र प्रहरीका डीसीपी स्वेता खेड्करको नेतृत्वमा भएको अनुसन्धान उन्केसम्म पुगेको थियो । उनी यसअघि पनि २०२१ मा पक्राउ परेका थिए ।
उनले किन बम रहेको भन्दै आतंक सिर्जना गरे भन्ने हालसम्म खुलेको छैन ।
प्रहरीका अनुसार, उनले प्रधानमन्त्री कार्यालय, रेलवे मन्त्रीको कार्यालय, महाराष्ट्रका मुख्यमन्त्री लगायतलाई पनि इमेल पठाएको भेटिएको छ ।