
काठमाडौं,१ मंसिर ।
फिफा विन्डोअन्तर्गत त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको दोस्रो खेलमा नेपालले शनिबार अफगानिस्तानसँग सेन्टर स्टेडियम डुसान्बेमा खेल्दै छ । सोही मैदानमा नेपालले शुक्रबार अभ्यास गर्यो ।
अफगानिस्तानसँग नेपालको ११ वर्षपछि भेट हुँदै छ । सन् २०१३ मा काठमाडौंमा भएको साफ च्याम्पियनसिपमा नेपाल र अफगानिस्तानबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा अफगानिस्तान १–० ले विजयी भएको थियो । सन् २००६ देखि नेपाल र अफगानिस्तानबीच ६ खेलमा प्रतिस्पर्धा भएको छ ।
नेपाली टोलीको कप्तानी गोलकिपर किरण चेम्जोङले गर्नेछन् । इन्डोनेसियाको शीर्ष डिभिजन लिगमा खेलिरहेका रोहित चन्दले रक्षापंक्ति सम्हाल्नेछन् । कीर्तिमानी १४ गोलका लागि प्रयासरत अञ्जन विष्ट अग्रपंक्तिमा हुनेछन् । अनुभवी र युवा खेलाडी मिश्रित नेपालले आफ्नो विरासतलाई निरन्तरता दिने अपेक्षा छ । नेपालले पहिलो खेलमा बुधबार घरेलु टोली ताजकिस्तानसँग ४–० ले पराजय बेहोरेको थियो ।