१४ पुस, काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अटिजम भएका बालबालिकाको हेरचाहका लागि निर्देशिका तयार पार्ने निर्णय गरेको छ।स्वास्थ्यमन्त्री प्रदीप पौडेलले नेपालमा बालबालिकामा अटिजम देखा पर्ने क्रम बढेको भन्दै बढ्दो स्वास्थ्य समस्या सम्बोधन गर्नका लागि मन्त्रालयले काम थालेको बताएका छन्।
अटिजम देखिएका बालबालिकाका पक्षमा स्वास्थ्य संस्थाहरूमा प्रभावकारी काम गर्न भन्दै मन्त्रालयले सर्वप्रथम रोकथाम, उपचार, हेरविचार तथा सहयोगजस्ता विषय समेटेर निर्देशिका बनाउने निर्णय गरेको बताएको छ।
यसका लागि डाक्टर दीपकप्रकाश महराको संयोजकत्वमा १० सदस्यीय मिति गठन गरिएको छ। समितिमा दीपकराज सापकोटा, डा सुनिता मलेकु, डा मेरिना श्रेष्ठ, डा अरुण कुँवर सदस्य छन्।
यसैगरी ध्रुवकेदार अधिकारी, सन्तोष रायमाझी, उमेश तामाङ तथा कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखाका प्रतिनिधिलाई सदस्य तथा मन्त्रालयको बहुक्षेत्रीय समन्वय शाखा प्रमुखलाई सदस्य सचिव तोकिएको छ।
समितिले एक महिनाभित्र अटिजम रोकथामका विषयमा अध्ययन गरेर स्वास्थ्य क्षेत्रका कार्यक्रममा समावेश गर्न सकिने विषय सुझाव दिनेछ।
यसैगरी अटिजम भएका बालबालिकाको हेरचाह, उपचार तथा सहयोगसम्बन्धी क्रियाकलाप निर्देशिकामा समावेश गर्नेछ। समितिले अटिजमका क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्थाहरू तथा विकास साझेदारसँग सहकार्यको खाकासमेत तयार पार्ने मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले जानकारी दिए।