भक्तपुर, २२ पुस : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले सरकारी अस्पतालले मात्रै नभई निजी अस्पतालले पनि यो भुईमान्छेको पनि अस्पताल हो भन्ने अनुभूति हुने गरि शुलभ सेवा दिनु पर्ने बताउनु भएको छ ।
ह्याम्स अस्पतालले व्यबस्थापन सम्हालेको भक्तपुरस्थित नागरिक अस्पतालको अत्याधुनिक उपकरणयुक्त लेभल–३ आइसियु कक्षको आज उद्घाटन गर्दै उहाँले निजी अस्पतालले गरिब र भुईमान्छेका सरकारको नीति अनुसारको १० प्रतिशत निःशुल्क सेवा पारदर्शी रुपमा दिनुपर्न बताउनुभयो ।
मन्त्री पौडेलले भन्नुभयो, “निजी स्वास्थ्य संस्था सेवामुखी व्यापार हो, यसलाई ख्याल गरिदिनुस्, निजी अस्पतालले पनि विश्वसनीयता दिएर चल्नु पर्छ, सरकारको नीीत र मापदण्डलाई सबै अस्पतालले पालना गरिदिनुस्, पारदर्शी रुपमा १० प्रतिशतको निःशुल्क बेड भर्ना लिनुस्, उनीहरुको रेकर्ड राखेर को को गरिब बिरामीलाई दिएको सेवा फोटोसहित नाम सार्वजनिक गरिदिनु्स् । यो अस्पताल भुईमान्छको पनि अस्पताल हो भन्ने अनुभूति दिलाइसदनुस् ।”
स्वास्थ्य बिमालाई एकलाख एकलाखबाट पाँच लाख पुर्याउने मात्रै होइन त्यसलाई कसरी कार्यान्वयन गर्ने भनेर पनि लागिरहेको बताउदै बिकसित मुलुकमा जस्तै प्रत्येक नागरिकको योगदानलाई सुनिश्चित गर्नेगरि नागरिक योगदानमा आधारित बिमा प्रणाली लागू गर्न सके सबै नागरिकलाई निःशुल्क सेवा दिन सकिने उहाँले बताउनुभयो ।
“स्वास्थ्य बिमामा सरकारको बजेट सात अर्ब छ, अहिलेकै अबस्थामा ४९ अर्ब बजेट व्यबस्था गरेपनि नपुग्ने देखिन्छ, यस्तै अबस्था रहे अर्को साल स्वास्थ्य बिमा सेवा नै बन्द हुन्छ ।”, मन्त्री पौडेलले भन्नुभयो, “हामी बिमा प्रणाली व्यवस्थित गरेर स्वास्थ्यको पुनःसंरचना गर्न लागिरहेका छौँ । बिमाका विषयमा सुझाव दिन गठिन कमिटीको प्रतिवेदन बुझेका छौँ, एकदम राम्रो छ, त्यसलाई कार्यान्वयनमा ल्याउन के पुग्छ, त्यसबारेमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेर अगाडि बढ्छौँ ।”
स्वास्थ्य मन्त्रालयको तथ्यांकमा देशभर १० हजार वढी अस्पतालहरु सञ्चालनमा रहेको भनिए पनि ती सबै अस्पतालहरुले पूर्ण सेवा दिन नसकेको भन्दै उहाँले पूर्ण सेवा दिन नसक्ने अस्पताल अस्पताल हुन नसक्ने बताउनुभयो ।
कार्यक्रमा ह्याम्स अस्पताल तथा नागरिक अस्पताल अध्यक्ष रामशरण भण्डारीले निजी क्षेत्रका अस्पतालहरुको सरकारले ग्रेडिङ गरेर शुल्क निर्धारण गर्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले देशभरको अस्पतालको ग्रेडिङ गरिदिनु पर्यो, बेडको संख्याको आधारमा होइन, आफ्नै भौतिक संरचना, प्रबिधियुक्त सेवाको आधारमा अस्पतालको ग्रेडिङ गरिदिएर स्वास्थ्य सेवाको शुल्क निर्धारण गरिदिए अस्पतालले सेवा अनुसारको शुल्क लिन पाउँछन् र बिरामीले आफू कुन अस्पताल जाने हो छान्न पाउनेछन्, यसबाट अस्पतालहरुले कर छलि पनि गर्न पाउँदैनन् ।”
उहाँले निजी अस्पतालले सरकारको नीतिअनुसार चल्नुपर्छ भनेर आइपीओमा गएको बताउदै सबैमा यो नीति लागू हुनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष भण्डारीले भक्तपुरमा एक लाख ७३ हजार स्क्वायरफिट रहने गरि नौ तलाको हेलिप्याडसहितको अत्याधुनिक अस्पताल भवन निर्माण सुरु भएको बताउनुभयो ।
कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नेपाल कोरिया मैत्री अस्पतालले मात्रै थग्न नसकेको अबस्थामा पूर्वबाट अरनिको राजमार्ग हदै आउने बिरामीहरुलाई नागरिक अस्पतालले सेवा दिने बताउदै भक्तपुरमा ठूलो लगानीको अत्याधुनिक अस्पताल सञ्चालनमा आउँदा उपचारका लागि काठमाडौंका अस्पतालको भर पर्न नपर्ने बताउनुभयो ।
कार्यक्रममा आइसियु विशेषज्ञ डा अर्जुन कार्कीले आइसियुमा उच्चस्तरीय प्रविधि, उपकरण, विज्ञ, दक्ष नर्स र औषधिकोउपचार गर्ने र धेरै बिरामी निको पारेर पठाउने सकिने बताउदै विरामी आइसीयुमा छ भन्नेबित्तिकै बाँच्दैन भन्ने धारणा गलत रहेको बताउनुभयो । अस्पतालका मेडिकल डाइरेक्टर डा कुन्दनसिंह कार्कीले अस्पताललाई अत्याधिनक उपकरणयुक्त बनाइरहेको बताउदै उपचार सेवा र उपकरण दुवैका लागि भक्तपुरको पहिलो र उत्कृष्ट बनाउने लक्ष्यका साथ सेवा सञ्चालनमा ल्याएको बताउनुभयो ।