
भक्तपुर, ६ माघ । नेपाल पत्रकार महासंघ भक्तपुरका नवनिर्वाचित पदाधिकारी एवं केन्द्रीय परिसद सदस्यहरुलाई आज भक्तपुरमा सम्मान गरिएको छ ।
भक्तपुरबाट प्रकाशित हुने ङातापोल एक्स्प्रेस दैनिकले आज आयोजना गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल, जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरिक्षक माधवप्रसाद बुढाथोकी, भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रोशनीमैया धौबन्जा, वरिष्ठ पत्रकार विश्वबहादुर दुवालले टीका लगाएर खादा ओढाउदै भादगाउँले टोपी लगाएर सम्मान गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले पत्रकारिता समाजको तेश्रो आँखा भएको चर्चा गर्दै पत्रकारले निष्पक्ष पत्रकारितालाई अंगाल्नु पर्ने बताउनुभयो ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरिक्षक माधवप्रसाद बुढाथोकीले पत्रकारले मागको सूचना प्रवाह गर्न प्रहरी तत्पर रहेको बताउदै अनुसन्धान जारी रहेका कतिपय सूचनाहरु दिन नमिल्ने बताउनुभयो । उहाँले जिल्लामा पछिल्ले समय भएको अपराधका घट्नाकाबारेमा चर्चा गर्नुभयो ।
वरिष्ठ पत्रकार विश्वबहादुर दुवालले पत्रकारिता कपि पेष्टमा अगाडि बढ्दा बिकृत बढेको बताउदै खोजमूलक र शुद्ध भाषामा समाचार सम्प्रेषण हुनु आवश्यक रहेको औल्याउनुभयो । ङातापोल एक्सप्रेस दैनिकका सम्पादक विज्ञेन्द्र ध्वंजूले पत्रकारिता समाजको ऐना बन्नु पर्नेमा जोड दिदै नकारात्मक समाचार मात्रै सम्प्रेषण गर्ने र बिकाउ बनाउने प्रबृत्तिलाई त्यागेर सकारात्मक सन्देश प्रवाह गर्ने समाचारमा ध्यान दिनुपर्ने बताउनुभयो ।
भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रोशनीमैया धौबन्जाले सूचना र सन्देशहरु निःशुल्क प्रकाशित गर्दै आएको यस पत्रिकाले आगामी दिनमा पनि समाज परिवर्तनमा भूमिका निर्वाह गर्नु पर्ने बताउनुभयो । पत्रकार महासंघ उपत्यका प्रदेशका कोषाध्यक्ष सञ्जिब घिमिरे शुभचिन्तकले पत्रकारको सुरक्षा, स्वास्थ्य उपचारलगायतको कोष निर्माणमा आफू लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकारले भक्तपुरका पत्रकारलाई डिजिटल प्रबिधि युक्त पत्रकारिता तालिम प्रदान गर्नेदेखि भवन निर्माणमा समेत आफ्नो कार्यकालमा पलब्धी मूलक कार्य गर्न बताउनुभयो । बिज्ञापनमा समानुपातिक प्रणाली आवश्यक रहेको औल्याउनुभयो ।
पत्रिकाका प्रकाशक विश्व दुवालले छापा माध्यममाथि धेरै चुनौतीहरु थपिएको बताउदै यसलाई बचाउन राज्यका तीनवटै तह लाग्न पर्ने बताउनुभयो । उहाँले पत्रकार महासंघका भवन निर्माणमा आफ्नो तर्फबाट पनि सहयोग रहने बताउनुभयो ।