
ललितपुर, १० माघ । भक्तपुर र ललितपुरको सिमानास्थित लुभुँमा योगनरेन्द्र मल्लकालीन शिवलिङ्ग भेटिएको छ । महालक्ष्मी नगरपालिका–८ लुभुको अन्नडोलमा मल्ल राजा योगनरेन्द्र मल्ल नामांकित शिवलिङ्ग फेला परेको हो ।
स्थानीय प्रकाश थापाले आफ्नो घर निर्माणका लागि पानीको व्यबस्थापन गर्ने क्रममा इनार खन्दा शिवलिङ्ग भेटिएको जानकारी दिदै थापाले उक्त शिवलिङ्गलाई आफ्नो घरमा सुरक्षित राखेका बताउनुभयो । अक्षर उत्कीर्ण शिवलिङ्गको ऐतिहासिकताबारे अध्ययन गर्न उपप्राध्यापक सुरेश बखुन्छें, सञ्चारकर्मी हरिसुन्दर छुकां, आर्किटेक्ट सिर्जना प्रजापति र इन्जिनियर तुल्सीलाल बासुकलाको टोली उक्त स्थानमा पुगेर त्यसको अध्ययन गर्नुभएको छ ।
टोलीले शिवलिङ्गमा उत्कीर्ण अक्षर र शब्द अध्ययन गर्ने क्रममा उक्त शिवलिङ्ग योगनरेन्द्र मल्लकालीन भएको पत्ता लागेको सञ्चारकर्मी छुँकाले जानकारी दिनुभयो । उहाँले उक्त शिवलिङ्गमा नेपाल संवत् ८१६, योगनरेन्द्र मल्ल, शिवलिङ्ग, न्येमा, लुवु, माघ शुक्ल लगायतका अक्षर फेला परेको बताउनुभयो ।
भेटिएको शिवलिङ्गको गोलाई १२ इन्च, जलद्रोणीसहित १६ इन्च र उचाइ ६ इन्च रहेको जानकारी दिदै उहाँले केही भाग चोइटिएको कारण अध्ययनमा केही कठिनाइ भएको र शिवलिङ्गमा रहेको अभिलेखको लिप्यान्तरपछि थप तथ्य खुल्ने बताउनुभयो ।