भक्तपुर, २१ माघ : सूर्यविनायक नगरपालिका भित्रका ६५ वटा विद्यालय र विद्यालय बाहिर ११ वटा गरि ७६ खोप केन्द्र मार्फत पाठेघरको मुखको क्यान्सर विरुद्धको लगाइने एचपिभी खोप लगाईने भएको छ ।
सूर्यविनायक नगरपालिकाका नगर प्रमुख एवं नगरस्तरीय खोप समन्वय समिति संयोजक बासुदेव थापाको अध्यक्षतामा सोमबार नगर अस्पतालमा बसेको खोप समितिको बैठक एवं अभिमुखीकरणमा अभियानको तयारी पुरा भएको जानकारी दिएको हो ।
कार्यक्रममा नगर प्रमुख थापाले खोप अभियान सफल र प्रभावकारी बनाउन सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने बताउुभयो । खोप अभियान सफल बनाउनु प्रत्येक नागिरकको दायित्व भएको बताउदै उहाँले लक्षित वर्गका सबै किशोरीहरुलाई अनिवार्य रुपमा खोप लिन पनि आग्रह गर्नुभयो ।
अभियानको २२ गते बिहान १०ः३० बजे नगर प्रमुख थापाले अरनिको माध्यमिक बिद्यालयबाट शुभारम्भ गर्नुहुने कार्यक्रम फागुन ६ गतेसम्म देशैभर सञ्चालन हुने बताउनुभयो । विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० वर्ष देखि १४ वर्ष सम्मका किशोरीहरूलाई यो खोप दिईंदैछ ।
स्वास्थ्य शाखा प्रमुख बसन्त चापागाइले नगरपालिकामा चार हजार १६२ जना किशोरीलाई खोप लगाइने र विद्यालयमा अध्ययनरत ६ देखि १० कक्षासम्मका तीन हजार ८३४ जना किशोरी र विद्यालय नजाने १० देखि १४ वर्ष सम्मका ३२८ जना किशोरीलाई खोप लगाइनेछ । खोप अभियानलाई सफल बनाउन नगरका ६५ वटा विद्यालय र विद्यालय बाहिर ११ वटा खोप केन्द्र तोकिएको छ भने खोप केन्द्रमा ७१ जना नै स्वास्थ्यकर्मी र १ सय ४२ जना स्वयंसेवक परिचालन गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा नगररपालिकाका नगर उपप्रमुख सरिता तिमसिना भट्टराई, प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइटेल, सामाजिक विकास समितिका संयोजक तथा नगर प्रवक्ता रविन्द्र सापकोटा, सूर्यविनायक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राकेश बर्मा, विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरुको पनि सहभागिता रहेको थियो ।