भक्तपुर, २२ माघ ः सूर्यविनायक नगरपालिका भित्रका ६५ वटा विद्यालय र विद्यालय बाहिर ११ वटा गरि ७६ खोप केन्द्र मार्फत पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइने एचपिभी खोप अभियान सुरु भएको छ ।
आज नगरपालिकाको उपप्रमुख सरिता भट्टराई तिमिल्सिनाले दधिकोटस्थित अरनिको माध्यमिक विद्यालयमा खोप बाकस हस्तान्तरण गर्दै अभियान सुरु गर्नु भएको हो । कार्यक्रममा उहाँले पाठेघरको मुखको क्यन्सरले विकराल रुप लिदाँ धेरै महिलाको ज्यान जोखिममा परेको अबस्थामा नेपाल सरकारले देशभर सुरु गरेको यो अभियानले लाखौ किशोरीहरुको जीवनमा सुरक्षा प्रदान गरेको बताउनुभयो ।
खोप अभियान सफल र प्रभावकारी बनाउन सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिदै उहाँले लक्षित वर्गका सबै किशोरीहरुलाई अनिवार्य रुपमा खोप लिएर अभियान सफल पार्न र क्यान्सर जस्तो जटिल रोगबाट बच्न आव्हान गर्नुभयो । यो अभियानमा विद्यालय भित्र रहेका कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय बाहिर रहेका १० वर्ष देखि १४ वर्ष सम्मका किशोरीहरूलाई आफूलाई पायक पर्ने खोप कन्द्रमा पुगेर खाप लगाउन सबै किशोरीहरुमा आव्हान गर्नभयो ।
कार्यक्रममा नगरपालिकाका प्रवक्ता एवं वडा नं. ७ का वडाध्यक्ष रबिन्द्र सापकोटाले नगरपालिकाले नगर प्रमुख एवं नगरस्तरीय खोप समन्वय समिति संयोजक बासुदेव थापाको अध्यक्षतामा अभियान सञ्चालन गरेको बताउनुभयो । उहाँले सबै वडामा रहेका खोप केन्द्र तोकिएका विद्यालयहरु र अन्य खोप केन्द्रमा गएर खोप लगाएर क्यान्सर न्यूनिकरणमा टेवा पुर्याउन अभियान सफल पार्नु पर्ने बताउनुभयो । बाहिर किनेर लगाउँदा यो खोपको मूल्य रु. आठ हजार पाँचसय पर्नेमा सरकारले निःशुल्क उपलब्ध गराएको यो खोप लगाउन आव्हान गर्नुभयो ।
नगर स्वास्थ्य शाखा प्रमुख बसन्त चापागाइले नगरपालिकामा चार हजार १६२ जना किशोरीलाई खोप लगाइन अभियान सुरु भएको बताउदै विद्यालयमा अध्ययनरत ६ देखि १० कक्षासम्मका तीन हजार ८३४ जना किशोरी र विद्यालय नजाने १० देखि १४ वर्ष सम्मका ३२८ जना किशोरीलाई खोप लगाइने बताउनुभयो । खोप अभियानलाई सफल बनाउन नगरका ६५ वटा विद्यालय र विद्यालय बाहिर ११ वटा खोप केन्द्र तोकिएको छ भने खोप केन्द्रमा ७१ जना नै स्वास्थ्यकर्मी र १४२ जना स्वयंसेवक परिचालन गरिएको उहाँले बताउनुभयो ।