काठमाडौँ,२८ फागुन।
युगाण्डामा जारी चार देशीय टी–२० क्रिकेट श्रृंखलामा नेपालले तेस्रो हार बेहोरेको छ । नेपाल नामिबियासँग लगातार दोस्रो पटक पराजित भयो । दोस्रो चरणको पहिलो खेलमा नेपाल नामिबियासँग २३ रनले पराजित भयो । जितका लागि १२६ रनको चुनौती पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १०२ रन बनायो ।
नेपालका लागि साना प्रवीनले सर्वाधिक ३१ रन बनाइन् । कविता जोशीले अविजित रहँदै १७ रन जोडिन् । त्यस्तै कप्तान इन्दू बर्मा र पूजा महतोले समान १५–१५ रन बनाए ।
यसअघि खेलमा टस जितेर नेपालले पहिले बलिङ गर्दै नामिबियालाई १२५ रनमा रोक्यो । नामिबियाले ८ विकेटको क्षतिमा १२५ रन बनाएको हो । यस्मीन खानले सर्वाधिक ४५ रन बनाएको इनिङ्समा इश्वरी विष्टले ३, रचनाकुमारी चौधरीले २ तथा इन्दू बर्मा र रिया शर्माले १–१ विकेट लिए । यस श्रृंखलामा नेपालले खेलेका ४ खेलमा १ जित र ३ हार बेहोरेको छ । नेपालले यसअघि नामिबिया र हङकङसँग हार बेहोरेको थियो भने आयोजक युगाण्डालाई पराजित गरेको थियो । त्यस्तै नामिबियाले २ खेलमा २ जित र २ हार बेहोरेको छ ।
नेपालले बिहीबार युगाण्डासँग र शुक्रबार हङकङसँग खेल्ने तालिका रहेको छ ।
त्यसपछि आइतबार अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ । नेपाल लगातारको हारले पहिलो र दोस्रो स्थानमा रहेर खेल्ने सम्भावना कमजोर भएको छ ।