काठमाडौँ,२ चैत।
समाजवादी मोर्चाले संघीयता र गणतन्त्रको विरुद्धमा भइरहेको चलखेलको विरोधमा चैत १५ गते प्रदर्शन गर्ने भएको छ ।
मोर्चाले आज बुद्धिजिवीहरुसँग छलफल गरेर गरेको पत्रकार सम्मेलनले सो कुराको जानकारी गराएको हो ।
देशमा विकसित नयाँ परिस्थिति र प्रतिगामी तत्वहरुको क्रियाकलापबारे समाजवादी मोर्चा, नेपालको दृष्टिकोण अगाडि सार्न र आगामी कार्यक्रमको घोषणा गर्न यो पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।शनिवार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा नेकपाका नेता खड्गबहादुर विश्वकर्माले मोर्चाले सम्पूर्ण देशभक्त तथा गणतन्त्रवादी शक्तिहरू एकजुट भई प्रतिगमन र प्रतिक्रियावादीहरूको षड्यन्त्र विफल पार्न जनसमुदायसँग अपिल गर्ने निर्णय गरेको बताए।
मोर्चाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकासमा देखिएको ठकराव र राज्यसत्ताको बागडोर सम्हालेकाहरूको अलोकतान्त्रिक रबैया र गतिविधिका कारण जनतामा निराशा पैदा भएको आरोप लगाएको छ।
उनले भ्रष्टाचार, कमिशन र कालोबजारीले अर्थतन्त्र संकटग्रस्त रहेको बताए। सरकार बिचौलिया दलालहरूको स्वार्थसिद्धिमा केन्द्रित रहेको बताए। अध्यादेशमार्फत सरकार चलाउने, सदनलाई छल्ने र संसद्मा दर्ता भएका महत्त्वपूर्ण विधेयकहरू नियन्त्रण गरी राख्नेमा उद्यत रहेको बताए।