
काठमाडौं,७ चैत।
प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माण गर्न वैदेशिक ऋण लिनुको विकल्प नभएको बताएका छन्।
बिहीवारको प्रतिनिधिसभाको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले वर्तमान सरकारले देशलाई गरिबीको दयनीय अवस्थाबाट छिटो मुक्त गर्न काम गरी रहेको दाबी गरे।
असहज आर्थिक अवस्थामा गुज्रिरहेको अवस्थामा वर्तमान सरकार बनेको बताए। उनले उत्पादकत्व बढी भएका ठाउँमा लगानी गर्न ऋणको रकम खर्च भइरहेको बताए। कतिपय विकास निर्माणका काम अन्तिम चरणमा रहेको तर ऋण बाहेक अर्को विकल्प नभएको उनको भनाइ छ।प्रधानमन्त्री ओलीले नेपाल सरकारका कर्मचारी लोकसेवा आयोगमार्फत नियुक्ति गरिने भएकाले सरकारले आफ्नो मान्छे राख्यो भन्ने भनाइ आरोप मात्रै भएको बताए। प्रधानमन्त्री ओलीले कर्मचारीको ज्ञान, सीप, अनुभव र कार्यक्षमताको आधारमा पदस्थापन तथा सरुवा गर्ने गरिएको बताए।
उनले कानुनविपरीत काम गर्ने कर्मचारी दण्डित भइरहेको दाबी गरे।