भक्तपुर, ७ चैत । सडकमा अलपत्र रहेका वेवारिसे सडक मानवको उद्धार गर्ने, उपचार गर्ने, आश्रय दिने र पारिवारिक पुर्नमिलन गर्दै आएको मानव कल्याण समाज भक्तपुरले सडक मानवका लागि स्थायी संरचना निर्माणको मूल उदेश्यले महायज्ञको आयोजना गर्ने भएको छ । ‘बेवारिसे सडक मानवका लागि महायज्ञ’ भन्ने अभियानका साथ मानव कल्याण समाजले मध्यपुरथिमि नगरपालिका–५ राधेराधेस्थित यातायात कार्यालयसंगै यही चैत २१ गतेदेखि २७ गतेसम्म श्रीमद् भागवत ज्ञान महायज्ञको आयोजना गर्ने भएको हो ।
आज भक्तपुरको गठ्ठाघरस्थित राष्ट्रिय संचार केन्द्रमा मानव कल्याण समाज भक्तपुरले आयोजना गरेको पत्रकार सम्मलेनमा महायज्ञबारे जानकारी दिदै समाजकी सस्थापक अध्यक्ष एवं महायज्ञकी कथा वाचिका देवी सुमी मानवले महायज्ञमार्फत उद्धार गरिएका मानवहरुको सेवालाई थप प्रभावकारी र दिगो रुपमा व्यवस्थापन गर्ने उदेश्यले महायज्ञको आयोजना गर्न लागेको बताउनुभयो ।
महायज्ञबाट संकलित सहयोगबाट असहाय सडक मानवहरूको लागि जग्गा खरिद तथा स्थायी आवास निर्माणमा प्रयोग गरिने बताउदै अध्यक्ष मानवले भन्नुभयो, ‘२०७२ सालदेखि नै सडकमा बेवारिसे रहेका मानवहरुलाई चाउचाउ, बिस्कुट तथा पानी बाढ्ने अभियानबाट सेवाको सुरुवात गरेका थियौ, समाजले हालसम्म २१ सय सडक मानव तथा बेवारिसे मानवको उद्धार गरी सकेको छ ।’
हाल भक्तपुर, काभ्रे, काठमाडौं, बारा र दाङ शाखामा कार्यालय स्थापना गरेर समाजले पाँच सय जनालाई आश्रय दिंदै आइरहेको बताउदै उहाँले काभ्रेको बनेपामा स्थानीय र प्रदेश सरकारले निर्माण गरेको भवनमा १५१ बालबालिका आश्रित रहेको बताउनुभयो ।
पत्रकार सम्मेलनमा महायज्ञ आयोजना समितिका संयोजक गोपीकृष्ण न्यौपानेले सडक तथा सार्वजनिक स्थलहरूमा अलपत्र तथा बेवारिसे अवस्थामा रहेका मानवहरूको लागि दीगो रूपमा खाना, नाना र छानाको व्यवस्थापन गर्ने उदेश्यले जग्गा तथा भवन व्यवस्थापन गर्ने लक्ष्यका साथ महायज्ञ आयोजना गर्न लागेको बताउनुभयो ।
बेवारिसे मानवहरूको उद्धार गर्दै उनीहरूको सरसफाई, स्वास्थ्य उपचार, पुनर्मिलन, मनोपरामर्श तथा सुधारका लागि विभिन्न प्रयासहरूलाई निरन्तरता दिदै आएको उहाँले बताउनुभयो । महायज्ञबाट संकलित दान दक्षिणालाई पारदर्शी रुपमा महायज्ञको समापन पछि पत्रकार सम्मेलन गरेर सार्वजनिक गन उहाँले बताउनुभयो ।
पत्रकार सम्मेलनमा महायज्ञका कोषाध्यक्ष नरेश रंजितले महायज्ञबाट संकलित दान दक्षिणाको पूर्ण रुपमा मानवीय सेवामा लगाउने र सडक मानवका लागि खान, बस्न र आश्रयस्थलको स्थायी व्यबस्थापन गर्ने बताउनुभयो ।
पत्रकार सम्मेलनमा महायज्ञका प्रेस संयोजक पेशल आचार्यले प्रेस विज्ञप्ती वाचन गर्दै महायज्ञको तयारीकाबारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा महायज्ञ आयोजक समितिका सहसंयोजक जुना बस्नेत र मधु ढुंगेल, गैरसरकारी संस्था महासंघ भक्तपुरकी अध्यक्ष अनिता पाण्डेले मानव कल्याण समाजले भक्तपुरमा मानवीय सेवा सुरु गरेदेखिनै जन्मदिन, बिवाहोत्व, पितृर्का लगायत बिभिन्न अवसरमा दिने दान, दक्षिणा र सहयोगले सेवा पुर्याउदै आएकाले भवन निर्माणका लागि सबैले आवश्यक सहयोग गर्नु पर्ने बताउनुभयो ।
महायज्ञको मुख्य कार्यक्रम अन्तर्गत चैत्र २१ गते बिहान ७ देखि ९ बजेसम्म पुर्वाङ्ग हुनेछ भने सोही दिन विहान ९ बजे महायज्ञ स्थलबाट शोभाकलश यात्रा हुनेछ । महायज्ञको समुद्घाटन २१ गते दिउँसो साँढे १२ बजे हुनेछ ।
यस्तै लक्ष्यवर्तिका प्रज्वलन चैत्र २६ र २७ गते तथा समापन चैत्र २७ गते हुने बताइएको छ । महायज्ञ अन्तर्गत बिहान ५ देखि ७ बजेसम्म दैनिक योगाभ्यास, ७ बजेदेखि पूजा एवं पाठपारायण, ११ देखि ४ बजेसम्म संगीतमय कथावाचन, सवा ४ बजे आरती तथा साँढे ४ बजे प्रसाद वितरण गरिने छ । यस्तै दैनिक रुपमा साँझ ६ देख ९ बजेसम्म श्रृङ्गारिक महाआरती सहित सन्ध्याकालिन भजन हुने समाजले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।