काठमाडाैं, चैत १३ गते ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङसँग नेपालका लागि जापानका राजदूत तोरु मायदाले शिष्टाचार भेट गर्नुभएको छ ।
नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले मन्त्रालयस्थित आफ्नै कार्यकक्षमा नवनियुक्त राजदूत मायदालाई स्वागत गर्दै नेपालको विकासका प्राथमिकताका क्षेत्रमा जापानी लगानी आकर्षित गर्ने ठूलो सम्भावना रहेको उल्लेख गर्दै जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न थप प्रोत्साहन गर्न अनुरोध गर्नुभयो ।
जापानको ओसाकामा नेपाल–२०२५ वर्ल्ड एक्सपो हुन लागेकामा खुसी व्यक्त गर्दै मन्त्री गुरुङले यसले नेपाली उत्पादन प्रदर्शन गर्ने पर्याप्त अवसर सिर्जना गर्नुका साथै द्विपक्षीय व्यापार अभिवृद्धिमा योगदान पुर्याउने आधार सिर्जना हुने बताउनुभयो । आगामी वर्ष सन् २०२६ मा कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव रहेको र त्यही वर्ष नेपाल अतिकम विकसित राष्ट्रको सूचीबाट स्तरोन्नति हुँदैछ भन्ने उहाँले राजदूत मायदालाई जानकारी दिनुभयो । यस सन्दर्भमा, नेपालले जापानबाट थप विकास सहायता प्राप्त गर्ने मन्त्री गुरुङले विश्वास व्यक्त गर्नुभयो ।