
काठमाण्डौ,१३ वैशाख ।
महिला टी–२० विश्वकप एशिया छनोटका लागि नेपाली टोलीको घोषणा भएको छ ।
आउँदो मईमा थाइल्यान्डमा हुने आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटका लागि इन्दु वर्माको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा भएको हो ।नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेको अन्तिम टोलीमा पुजा महतोलाई उपकप्तानको जिम्मेवारी दिइएको छ । दोस्रो चरणको प्रशिक्षणमा रहेका २० खेलाडीबाट अन्तिम टोली घोषणा गरिएको हो ।
मई ७ देखि २१ तारिखसम्म हुने एशिया छनोटमा नेपालसहित ९ टोलीले प्रतिस्पर्धा गर्नेछन् । यसबाट शीर्ष दुई टोली ग्लोबल क्वालिफायरमा पुग्नेछ । ग्लोबल क्वालिफायरमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् र शीर्ष चार टोली अर्को वर्ष जुन–जुलाईमा इङ्ग्लयाण्डमा हुने महिला टी–२० विश्वकपमा छनोट हुनेछन् ।
यसैबीच महिला क्रिकेट टोली आईसीसी महिला टी-२० विश्वकप छनोटअघिको अन्तिम तयारीका लागि भारत जाने भएको छ ।
अप्रिल महिनाका लागि तय भएको भुटान टुर नहुने भएपछि नेपाली टोलीले भारतमा गएर अभ्यास भने गर्ने भएको छ ।
नेपाल क्रिकेट संघ क्यानको वार्षिक क्यालेण्डरमा समावेश भए बमोजिम अप्रिलमा नेपाल टुर अफ भुटान उल्लेख थियो जसका लागि क्यानले भुटानको बोर्डसँग कुराकानी समेत गरिरहेको जनाएको थियो । तर भुटानमा हुने शृंखलामा थप अन्य स्तरीय टिम सहभागी नभएकाले टुर नहुने भएको हो ।