
काठमाण्डौ,१२ जेठ।
नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (गंगानारायण श्रेष्ठ) समुहबिच पार्टी एकता भएको छ । ललितपुरको ग्वार्को खरिबोटस्थित कान्तिपुर ब्यांक्वेटमा सोमबार पार्टी एकता घोषणा भएको हो ।एकता समारोहमा माओवादीका महासचिव देव गुरुङले नेसपा (गंगानारायण श्रेष्ठ) समूह माओवादी केन्द्रमा समायोजन भएको घोषणा गरेका हुन् । एकता घोषणामा महासचिव गुरुङले पाँच बुँदे सहमति भएको घोषणा गरेका थिए ।
२०७२ सालमा तत्कालीन एकीकृत नेकपा (माओवादी) का उपाध्यक्ष डा.बाबुराम भट्टराईले पार्टीबाट अलग भएपछि गठन भएको नयाँ शक्ति नेपाल, सङ्घीय समाजवादी, जसपा नेपाल हुँदै २०७९ सालमा भट्टराईकै नेतृत्वमा नेपाल समाजवादी पार्टी(नेसपा) गठन भएको थियो ।
निर्वाचनपछि माओवादीसँग पार्टी एकता गर्ने पूर्वसहमतिबाट भट्टराई अलग भएपछि श्रेष्ठ समूहले अर्का अध्यक्ष महिन्द्र राय यादवलाई साथ दिएका थिए । २०८० साल चैत ३ गते महिन्द्र–गंगानारायण समूहले माओवादीसँग पार्टी एकता गर्ने तीन बुँदे सहमति गरेको थियो ।
तर महिन्द्र समेत एकता प्रक्रियाबाट पछि हटेपछि श्रेष्ठले आइतबार पार्टी पुनर्गठन गरी एकता गर्ने निर्णय गर्यो । एकताका लागि नेसपाले पठाएको विगतको ९ बुँदे आधार पत्रका आधारमा पार्टी एकता गर्ने निर्णय गरेको दाबी गरेका छन् ।
पार्टीबाट अलग भएको १० वर्षपछि श्रेष्ठसहित १७ केन्द्रीय कार्यकारिणी सदस्य र करिब सय जना केन्द्रीय सदस्यहरू माओवादी फर्किएको नेताहरूले दाबी गरेका छन् ।