
काठमाडौँ,१५ जेठ ।
सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ लागि झण्डै २० खर्ब रुपैयाँको बजेट ल्याउने भएको छ।
आज दिउँसो ३ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रलाई लयमा फर्काउने योजनासहितको बजेट पेश गर्नुहुने तयारी छ।
आगामी बजेटका लागि योजना आयोगले १९ खर्बको सिलिङ दिएको थियो। तर मध्यकालीन खर्च संरचना र स्रोत समितिले भने २० खर्ब ८८ अर्ब रुपैयाँ प्रक्षेपण गरेको छ। । तर अर्थ मन्त्रालयले आयोगको सिलिङ र स्रोत समितिको प्रक्षेपणको बीचमा रहने गरि २० खर्बको हाराहारीको बजेट ल्याउने बुझिएको छ।
बजेटमा निर्माणाधीन राष्ट्रिय परियोजना समयमा सक्ने, सामाजिक सुरक्षाका कार्यक्रम परिस्कृत गर्ने र कृषिको व्यवसायीकरणसम्बन्धी कार्यक्रम प्राथमिकतामा छन्। यस वर्ष वृद्धभत्ता पाउनेको उमेर पनि सरकारले ६८ वर्षबाट बढाएर ७० वर्ष पुर्याउने भएको छ। यस्तै कर्मचारीको तलब भने सरकारले बढाउने तयारी गरेको छ।
यस पटक सरकारले नयाँ योजना थप्नेभन्दा निर्माणाधीन आयोजनालाई प्राथमिकता राखेर बजेट ल्याउन लागेको हो। राष्ट्रिय योजना आयोगले योजना बैंकमा प्रविष्ट गरेका झन्डै १३ सय आयोजनामा बजेट केन्द्रित गरिँदैछ।
सरकारले यस पटक उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका सुझाव कार्यान्वयन गर्ने बताएको छ।
स्वदेशमा औद्यागिक उत्पादन लागत घटाउन कच्चा पदार्थको सहज उपलब्ध गराउने नीति बजेटले लिने जनाइएको छ।नवउद्यम र स्वरोजगारलाई जोड दिने गरी कार्यक्रम बजेटमा समेटिँदै छ।