
=====================================
सूर्यविनायकका मेयर थापालाई जग्गा खरिद गरकै आधारमा अख्तियारले प्रतिवादी बनाए पनि जग्गा जफतको प्रयोजनको लागि मात्रै प्रतिवादी बनाइएकाले मेयर पद निलम्बन नहुने अख्तियारका सहायक प्रवक्ता उपसचिव देवीप्रसाद थपलियाले जानकारी दिनुभयो ।
=====================================
भक्तपुर, २३ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकमार नेपालसमेत रहेका ९३ जनाविरुद्ध मुद्दा दर्ता प्रकरणमा नाम जोडिएका सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाको पद निलम्बन नहुने आयोगले जनाएको छ ।
पतञ्जली जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसँगै मुद्दा परेका भक्तपुरको सूर्यविनायक नगरपालिकामा एमालेबाट निर्वाचित मेयर थापाले जग्गा खरिद मात्रै गरेको र अनियमिततामा कुनै संलग्नतामा नरहेको भन्दै पद निलम्बन नहुने भएको हो ।
सूयविनायकका मेयर थापालाई जग्गा खरिद गरकै आधारमा अख्तियारले प्रतिवादी बनाए पनि जग्गा जफतको प्रयोजनको लागि मात्रै प्रतिवादी बनाइएकाले मेयर पद निलम्बन नहुने अख्तियारका सहायक प्रवक्ता उपसचिव देवीप्रसाद थपलियाले जानकारी दिनुभयो ।
प्रमुख थापाले आफूले साविक साँगा गाविस ४ (ख) को कित्ता नम्बर ५५२ को जग्गा डिल्लीध्वज बराइलीसँग १ करोड ३० लाख ६६ हजारमा खरिद गर्नुभएको थियो । मेयर थापाले आफूले खरिद गरेको पतञ्जलीको जग्गा भएको भन्ने कुनै जानकारी नभएको र डिल्लीध्वज बराइलीसँग जग्गा खरिद गरेको बताउनु भएको छ ।
मेयर थापाले आफूले वडा कार्यालय, मालपोत कार्यालय मोठ रोक्का हेरी रित पु¥याई जग्गा खरिद गरेको भन्दै पतञ्जली जग्गा हिनामिना प्रकरणबारे आफूलाई थाहा नभएको बताउनु भएको छ ।
अख्तियारले पूर्वप्रधानमन्त्री नेपालसहित ६३ जनालाई बिगो, कैद र जरिवाना मागदाबीसहितका प्रतिवादी बनाइएको छ भने थापासहित २८ जना र २ कम्पनीलाई भने विगो, कैद वा जरिवानाको कुनै माग नगरी प्रतिवादी बनाइएको छ । यस घट्नामा मेयर थापा दोषी नदेखिने भएकाले पद खारेज पनि नहुने स्पष्ट भएको बताइएको छ । केहीअनलाइन र सामाजिक सञ्जालमा मेयर थापा निलम्बन गरेर गलत सूचना प्रवाह गरेकोप्रति आपत्ति जनाईएको छ ।
सार्वजनिक पद धारण गरेको व्यक्तिविरुद्ध अदालतमा भ्रष्टाचार मुद्दा दायर हुने बित्तिकै निलम्बनमा पर्ने कानूनी व्यवस्था रहेकाले मुद्दा दर्ता भएसँगै अध्यक्ष नेपालको भने सांसद पद स्वतः निलम्बन भएको थियो ।