
भक्तपुर, २८ जेठ : देशका सञ्चार माध्यमहरुले बालश्रम एवं बालअधिकारको सवालमा प्रभावकारी ढंगबाट समाचार सम्प्रेषण गर्नु पर्ने सञ्चारकर्मी एवं सरोकारवाहरुले माग गरेका छन् ।
बालश्रम विरुद्धको विश्व दिवस २०२५ को पूर्वसन्ध्यामा आज बालबालिका तथा मिडिया समूहद्वारा आयोजना गरिएको बाल श्रमसम्बन्धी विषयमा सञ्चारकर्मीसँग विशेष छलफल कार्यक्रममा सहभागीहरुले बालबालिकाको समाचारलाई मिडियाले थप चासोका साथ ठाउँ दिनु पर्ने औल्याउनु भएको हो ।
समाज सेवा तथा मानवअधिकारमा महिला र बालबालिका (सिविस) को सहयोगमा सम्पन्न कार्यक्रममा सिविसका एडभोकेसी एडभाइजर तथा बाल अधिकारकर्मी युवराज घिमिरेले नेपालमा अहिले पनि ११ लाख बालबालिका प्रतक्ष्य रुपमा श्रममा रहेको तथ्याङ्ग राख्नुभयो ।
‘बालश्रम– खोसिएको बालपनको यथार्थ कथा’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्दै उहाँले श्रममा रहेका ११ लाख बालबालिका मध्ये करिब २ लाख बालबालिका जोखिमपूर्ण श्रममा संलग्न रहेको तथ्यांक प्रस्तुत गर्नु भयो ।
नेपाल सरकारले पछिल्लो समय सार्वजनिक गरेको तथ्यांकमा आधारित रहेर प्रस्तुत गर्नु भएको कार्यपत्रमा ५ देखि १७ वर्ष उमर समूहका १३ दशमलव ३ प्रतिशत, १४ देखि १७ वर्ष उमेर समूहका १० प्रतिशत र १४ वर्षभन्दा कम उमेरका १८ प्रतिशत बालबालिका अझै पनि श्रममा रहेको बताउनुभयो । सिविसले ४०० बालश्रमिकमा गरेको सर्वेक्षणमा सबभन्दा बढी गरिबीका कारण र त्यसपछि पारिवारिक हिंसाका कारण बालबालिका श्रममा आएको पाइएको बताउनुभयो ।
घिमिरेले बालश्रम अन्त्यका लागि राज्यले गौरबको योजनाका रुपमा राजनीतिक एजेण्डा बनाएर अगाडि लैजानु पर्ने औल्याउदै बालश्रम अन्त्यका लागि बालश्रमिक रहेको क्षेत्रको अनुगमन, तथ्यांक संकलन, अभिभावक शिक्षा, नागरिक अभियान तीनै तहका सरकारको चासो र बालश्रमलाई नाइ भन्ने अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
सिविसको अध्यक्ष विमला ज्ञवालीले घरेलु बालश्रम दण्डनीय अपराध भएपनि कारबाही प्रक्रियामा लैजान र बालश्रम अत्यका लागि मिडियाले भूमिका निर्वाह गर्नु पर्ने बताउनुभयो । उहाँले ३० वर्षदेखि बालश्रमि अन्त्यका लागि सिविसले कार्यक्रम गर्दै आएको बताउदै मिडियाले बालश्रम अन्त्यका लागि निरन्तर कलम चलाए यो सम्भव हुने बताउनुभयो ।
कार्यक्रममा बालबालिका तथा मिडिया समूहका संयोजक गोविन्द खड्काले ‘मिडिया र बालबालिका’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै सञ्चारकर्मीले निरन्तर रुपमा बालबालिकाको सवालमा समाचार सम्प्रेषण गर्न आवश्यक रहेको औल्याउनुभयो । उहाँले आचारसंहिता विपरित कतिपय समाचार र तस्विर प्रकाशित भएको तर बालश्रम अन्तयका लागि समाचार आउन नसकेको बताउनुभयो । उहाँले समाचारका बिभिन्न विषयहरु माथि चर्चा गर्नुभयो ।
कार्यक्रममा सहभागि बिभिन्न सञ्चारमाध्यमका पत्रकारहरुले बालमैत्री पत्रकारिता आजको आवश्यकता भएको औल्याउँदै सम्पादक तहमा पनि यसबारे चर्चा गर्नु पर्ने र डिजिटल युग अनुसारको सन्देशरु प्रवाह गर्नु पर्ने बताउनुभयो । कार्यक्रममा सिविसका महासचिव अनिता पाण्डेले सञ्चारकर्मीहरूले बाल अधिकारका सवालमा थप जिम्मेवार, संवेदनशील र सक्रिय भएर भूमिका निर्वाह गर्नु पर्ने बताउनुभयो ।