
=======================================================
आमाबुबासँगै रोल्पादेखि आएकी १५ वर्षीया जुनकिरी सार्कीको पढ्ने इच्छा पनि इँटाभट्टाको धूलोसंगैै उडेको छ । चाँगुनारायण नगरपालिका–८ सुडालस्थित एक इँटाभट्टामा काम गर्न थालेको पाँच वर्ष बितिसक्दा पनि उनको पढ्ने चाहनाले पूर्णता पाएन । गाउँमा भीर बारीमा उब्जने कृषिबाट परिवार पाल्न नसक्ने भएपछि बुबाआमासंगै इँटाभट्टामा आइपुगेकी उनले मंसिरदेखि बैशाखसम्म इँटाभट्टाकै झ्याउलीमा बस्ने, इँटा पार्ने, बोक्ने काम गर्दै आएकी छिन् । असार लागेपछि इँटाभट्टा काम बन्द हुने भएपछि अहिले एक तरकारी फार्ममा आफ्ना सपनाहरु माटोसंगै पल्टाउँदै आएकी छिन् ।
=======================================================
-रमेश गिरी
भक्तपुर, २९ जेठ : दाङ घोराहीकी १३ वर्षीया सानी घर्तीको रहर त स्टाफ नर्स भएर समाजसेवा गर्ने हो । अस्पतालको शय्यामा विरामीको सेवा गर्ने उनको सानैदेखिको चाहना यतिखेर भक्तपुरको गठ्ठाघर बस्ने एक सरकारी अधिकृतका घरको चौघेरा भित्र साँघुरिएको छ । भक्तपुरकै एक इँटाभट्टामा काम गर्ने आमासंग इँटा पल्टाउने काम गर्दै आएकी उनी भट्टामा काम सकिए पछि आमाहरु गाउँ फर्किए भने उनी सरकारी कार्यालयका अधिकृतको घरमा काम गर्दै आएकी छिन् ।
कक्षा २ सम्म गाउँमै पढाई गरेकी उनी ९ वर्षकी हुँदा आमाबुबासंगै भक्तपुरको एक इँटाभट्टामा आइपुगेकी हुन् । साँघुरो झ्याउलीको बसाई, गरिबीको पीडा र चार जना सन्तान मध्येकी जेठी उनी १० वर्षदेखि त्यही घरको चौघेरामा घरेलु बालश्रमिकको रुपमा काम गर्दै आएकी छिन् । पढेर नर्स बन्ने उनको चाहना त्यही घरमा लगाएको कुँचोले बढारे झै जुठो भाडा पखाल्दा पखालिएजस्तै भएको छ । गरिबीको घरमा जन्म लिनु नै दोष भएको बताउने उनी एक महिला विद्यालयमा पढ्न भने आउन थालेकी छिन् ।
आमाबुबासँगै रोल्पादेखि आएकी १५ वर्षीया जुनकिरी सार्कीको पढ्ने इच्छा पनि इँटाभट्टाको धूलोसंगैै उडेको छ । चाँगुनारायण नगरपालिका–८ सुडालस्थित एक इँटाभट्टामा काम गर्न थालेको पाँच वर्ष बितिसक्दा पनि उनको पढ्ने चाहनाले पूर्णता पाएन । गाउँमा भीर बारीमा उब्जने कृषिबाट परिवार पाल्न नसक्ने भएपछि बुबाआमासंगै इँटाभट्टामा आइपुगेकी उनले मंसिरदेखि बैशाखसम्म इँटाभट्टाकै झ्याउलीमा बस्ने, इँटा पार्ने, बोक्ने काम गर्दै आएकी छिन् । असार लागेपछि इँटाभट्टा काम बन्द हुने भएपछि अहिले एक तरकारी फार्ममा आफ्ना सपनाहरु माटोसंगै पल्टाउँदै आएकी छिन् ।
जुनकिरी भन्छिन्, “पढ्ने चाहना त कति छ कति, तर हामी गरिबले कहाँ पढ्न पाउँछौ । आमाबाबुको कमाईले ऋण तिर्नै पुग्दैन, पाँच जनालाई कसरी पेट भर्नु काम त गर्ने पर्यो, कहिले इँटाभट्टाको माटोसंग कहिले तरकारी फार्म, बंगुर फार्मको गोबरसंग सपनाहरु पल्टाईरहेकी छु ।” अरुले किताब बोकेर बसको गाडी चढेको देख्दा रहर लाग्ने गरेको बताउदै उहाँले सरकारले गाउँ गाउँमा अभिभावकलाई स्वरोजगार बनाउन सके गाउँनै छाडेर बाँच्नका लागि यहाँ आएर आउनै नपर्ने बताउनुहुन्छ ।
मन चसक्क हुने गरि जुनकिरी भन्नुहुन्छ, “सरकार गाउँमा कहिले पुग्दा है ? गाउँमा रोजगारी, मनलागे जति निःशूलक पढ्न व्यबस्था, उपचार गर्न गाउँमै अस्पताल कहिले पुग्ला है ? त्यति भए त यहाँको इँटाभट्टाको धूलो र हिलो, अनि कृषि फार्मको गोबरमाटो र विषसंग खेल्नै पर्दैनथ्यो ।”
काठमाडौं भक्तपुर धुलिखेल चल्ने सार्वजनिक यातायातमा खलासी गर्दै आएका १४ वर्षीय मने अर्थात मनबहादुर खड्का अब पढ्र के हुन्छ र भन्छन् । भकुण्डेबेसीमा गरिबीले थिलथिलो बनेको परिवारलाई छाडेर शहर पसेका उनी पढ्ने रहरलाई गाउँमै बिसाएर आएको बताउँछन् । चुरोटको लामो सर्को तानेर धुवाँ फाल्दै मने भन्नुहुन्छ, “के छ र गाउँमा ढिरोँ पनि पेटभरि खान पाएदैन, यहाँका सधै मासुभात खाएको छु, अलिअलि भएपनि पैसा खेलाउन पाएको छु, दुईवर्ष भयो खलासी गरेको । मेरो पढ्ने चाहनालाई गाउँमै बािएर आएको छु, अब त ड्राइभर बन्ने सपना छ ।”
यहाँ प्रस्तुत गरिएका पात्रहरु त केही नमूना मात्रै हुन् । यस्ता धेरै बालश्रमिकहरु आज पनि जीवन खोज्दै भविश्यको सपना बोकेर भौतारिरहेका छन् । एक अध्ययन अनुसार देशभरिका इँटाभट्टामा करिब २८ हजार बालश्रमिक छन् । भक्तपुरका इँटाभट्टामात्रै एक हजारभन्दा बढी बालबालिका छन् । ईट्टा बोक्दै गरेकी १६ वर्षीया टुल्की बिकलाई पनि एक वर्षकी एउटा छोरीको चिन्ता छ । श्रीमान्संगै ईट्टाभट्टामा काम गर्दै आएकी बिकलाई ठेक्का लिएको ईट्टा सबै सिध्याउदा पन हातमा ५० हजार पनि नबचे पछि गाउँ फर्कने योजना यतै थाती राखेर तरकारी फार्ममा क मगर्दैछन् ।
एउटा खाली जग्गा भाडामा लिएर टहरा हालेर तरकारी फार्ममा काम गर्न थालेकी टुल्की भन्नुहुन्छ, “ईट्टाभट्टामै एकजनासंग माया बस्यो, यही छोरा जन्मियो । अब यसको चिन्ता छ, पैसा बचाउन सकिएन, त्यसै यतै काम गरेर बसेका छौँ । आज के दिवस हो थाहा छैन, दिवसले के दिन्छ र थाहा पाउँनु हामीलाई ।“
त्यसो त भक्तपुरका चार वटा ईट्टाभट्टालाई बालश्रम मुक्त घोषणा गरिएको पाँच वर्ष भयो । कुनै अनुगमन छैन । अहिले तिनै ईट्टाभट्टामा बालश्रमिक छन् । नियमनकारी निकाय नहुदाँ बालश्रम रोक्न सकिएको छैन ।
इँटा व्यवसायी संघ भक्तपुरका अध्यक्ष नातीभाई ह्याम्बाले ईट्टाभट्टालाई बालश्रम मुक्तनाउन खोजे पनि अभिभावकसंगै आउने बालबालिकालाई रोक्न नसकिएको बताउनुहुन्छ । रोल्पा, दाङ, रुकुम, सर्लाही, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोकलगायतका जिल्लाबाट आएका मजदुरसंगै आउँने बालबालिकालाई काम नलाउ भने पनि अभिभावकले काम लगाउने गरेको व्यवसायीको गुनासो छ ।
बालश्रमको क्षेत्रमा विगत ३० वषएदेखि काम गर्दै आएको संस्था समाज सेवा तथा मानवअधिकारमा महिला र बालबालिका (सिविस) की अध्यक्ष विमला ज्ञवालीले अहिले पनि देशमा चौतर्फी बालश्रमिक रहेको बताउनुहुन्छ । बालश्रम रोक्नलाई गाउँमै अभिभावकलाई स्वरोजगार बनाउने कार्यक्रमसमेत रामेछाप, सिन्धुपाल्चोक लगायतमा संस्थाले सुरु गरेको बताउदै उहाँले राज्यले गाउँगाउँमा रोजगारमूलक कार्यक्रम पुर्याउन सके श्रमका लागि शहर पस्नु पर्ने बाध्यता नआउने बताउनुहुन्छ ।
बालबालिकासम्बन्धी ऐन संशोधनको संघारमा रहेको अबस्थामा ऐनलाई व्यबहारिक हुने गरि संशोधनमा लैजान सांसदहरुलाई उहाँले आग्रह गर्नुभयो
सिविसका एडभोकेसी एडभाइजर तथा बाल अधिकारकर्मी युवराज घिमिरेले नेपालमा अहिले पनि ११ लाख बालबालिका प्रतक्ष्य रुपमा श्रममा रहेको र करिब २ लाख बालबालिका जोखिमपूर्ण श्रममा संलग्न रहेको बताउनुभयो ।
नेपाल सरकारले पछिल्लो समय सार्वजनिक गरेको तथ्यांकमा आधारित रहेर उहाँले ५ देखि १७ वर्ष उमेर समूहका १३ दशमलव ३ प्रतिशत, १४ देखि १७ वर्ष उमेर समूहका १० प्रतिशत र १४ वर्षभन्दा कम उमेरका १८ प्रतिशत बालबालिका अझै पनि श्रममा रहेको बताउनुभयो । सिविसले ४०० बालश्रमिकमा गरेको सर्वेक्षणमा सबभन्दा बढी गरिबीका कारण र त्यसपछि पारिवारिक हिंसाका कारण बालबालिका श्रममा आएको पाइएको उहाँको भनाई छ ।
बालश्रम अन्त्यका लागि राज्यले गौरबको योजनाका रुपमा राजनीतिक एजेण्डा बनाएर अगाडि लैजानु पर्ने बताउदै उहाँले बालश्रम अन्त्यका लागि बालश्रमिक रहेको क्षेत्रको अनुगमन, तथ्यांक संकलन, अभिभावक शिक्षा, नागरिक अभियान तीनै तहका सरकारको चासो र बालश्रमलाई नाइ भन्ने अभियान सञ्चालन गर्नुपर्ने बताउनुहुन्छ ।