हामीसँग जोडिनुहोस

प्रधानमन्त्रीलाई १९ बालश्रमिकको छुट्टाछुट्दै पत्र : भन्छन् ‘बालश्रम अन्त्य गरिदिनुस्, सीप र शिक्षाको व्यबस्था गरिदिनुस्’

7 मिनेट
-रमेश गिरी
काठमाडौं , २९ जेठ :
सम्माननीय प्रधानमन्त्रीज्यू
बालुवाटार, काठमार्डौ
सम्माननीय प्रधानमन्त्रीज्यू सर्वप्रथम म जस्तो सबैको हेँलामा बाँचिरहेकी एक बालिकाको नमस्कार । मेरो नाम पुष्पा श्रेष्ठ हो । मेरो घर मकवानपुरको विकट गाउँमा पर्दछ । मेरो आमाको सात जना छोराछोरी मध्ये म साहिँली छोरी हुँ । म अहिले १४ वर्षकी भएँ । हाल म काठमाडौंको एक संस्थामा आश्रय लिएर भविश्य खोजिरहेकी छु ।
अन्तर्राष्ट्रिय बालश्रम विरुद्धको दिवसको अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई १९ जना बालश्रमिकले आफ्ना परिचयसहित यसैगरि पत्र लेखेका छन् ।  बिभिन्न क्षेत्रमा बालश्रमिकका रुपमा बालापन व्यतित गर्दै आएका बालबालिकाहरु ‘समाज सेवा तथा मानवअधिकारमा महिला र बालबालिका (सिविस)’ ले गरेको अन्तरक्रिया लगत्तै बालश्रम अन्त्य गर्न आव्हान गर्दै १९ जना बालबालिकाले प्रधानमन्त्रीलाई लेखेको पत्रको एकै प्रकारको सम्बोधनमा आफ्ना फरक जिन्दगीको पीडादायी यथार्थलाई उजागर गरेका छन् ।
प्रधानमन्त्रीलाई लेखेको पत्रमा मकवानपुरबाट बाबुको हत्या आरोपमा आमा पक्राउ परेपछि बिचल्लीमा परेका सातजना दिदीभाई मध्यकी साहिली छोरी पुष्पालाई आफ्नै ठूलो बुबाले काठमाडौंको एउटा घरमा घरेलु कामदारको रुपमा छाडेर गएपछिको पीडालाई उहाँले पत्र मार्फत पोख्नु भएको छ ।
बिहान ४ बजेदेखि घरको काम, त्यसपछि घरमालिकको होटलको काम र राती ११ बजेसम्मको कामले थकित बालिकाको अबस्था, मालिकको छोराबाट हुने हिंसा, आफना आमा र दिदीभाईलाई अहिलेसम्म भेट्न नपाएकाृ पीडा र उद्धारपछि अहिले बसेको आश्रयस्थलसम्मको पीडालाई पत्र मार्फत प्रधानमन्त्रीका लागि लेख्नु भएको छ ।
पत्रको अन्त्यमा उहाँले लेख्नु भएको छ :
‘प्रधानमन्त्रीज्यू तपाई त बालबालिकालाई साह्रै माया गर्ने मान्छे भन्ने सुनेको छु । हामीजस्ता बालबालिकाको लालनपालन, शिक्षादीक्षा, स्वास्थ्यको सुबिधा तपाईकै पालामा राज्यले गरोस है ? म निकै आशावादी छु । देशमा बालबालिकाका लागि जति पनि नीति नियम बनेका छन्, यो यथार्थमै लागू हो्स है ? वर्षमा एक पटक दिवस मात्र मनाएर बालश्रमको अन्त्य हुदैन नी । त्यसको लागि गाउँगाउँमा गएर, घरघर गएर बालबालिकाको अबस्था बुझ्नु पर्छ । बालबालिकाको पक्षमा बनेका कनून लागू हुनुपर्छ । जो हाम्रो रक्षक हो, उही भक्षक भइरहेको छ, यस्ता व्यक्तिलाई कडा कानून ल्याउनु पर्छ । यति चाँही तपाईकै कार्यकालमा हुनेछ भन्ने ठुलो आशा र भरोसा लिएको छु, हवस, मेरो पत्र पढिदिनु भएकोमा धेरै धेरै आभारी छु ।’
बालश्रममा जकडिएर धेरै सकस भागेकी उदयपुरबाट भक्तपुरको इँटाभट्टामा काम गर्दै सूर्यविनायक नगरपालिका–८ जगातिमा बस्दै नजिकैको गणेश माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्राले लेखेको पत्रमा पनि उस्तै पीडा छताछुल्ल भएका छन् । गरिबीले सिंगो परिवारलाई ईट्टाभट्टासम्म श्रमका लागि ल्याए पछि ईट्टाभट्टामा काम गर्दा झ्याउलीमा भोग्नु परेका दिनहरुलाई पत्रमार्फत उल्लेख गर्नु भएको छ ।
उहाँले पत्रमा लेख्नुहुन्छ, ‘प्रधानमन्त्रीज्यू, आफ्नो गाउँ छाडेर यो शहरमा मजदुरी गर्न आउँनलाई कसलाई रहर थियो र ? बाँच्नु त पर्यो नी । गरीबका लागि बाँच्नु नै कठिन संघर्ष रहेछ । एउटा भोका पेट भर्नकै लागि आङ्ग ढाक्ने एकसरो कपडाकै लागि हामी गरीबले ६ महिना ईट्टाभट्टाको हिलो, धूलो र धुवा झेल्नु पर्छ । गरीबका धेरै सपना कहाँ हुन्छ र ? आफ्नो परिवारका लागि भरपेट खान र एकसरो लाउन पाए त पुगिहाल्यो नी हैन र ?’
उहाँको पत्रमा बालश्रमिका अबधीमा उहाँले भोगेको अनगिन्ती घाउँहरुलाई कोर्नु भएको छ । अन्तमा उहाँले लेख्नुहुन्छ, ‘प्रधानमन्त्रीज्यू हामी जस्ता श्रममा परेका बालबालिकालाई विद्यालयमा निःशुल्क शिक्षाको व्यवस्था गरिदिनु प¥यो । बालश्रम विरुद्ध ऐन नियम कानुनहरु बनाएर र बनेका कानूनलाई वास्तविक रुपमा कार्यान्वयनमा ल्याउनु पर्यो । १६ वर्ष उमेर माथिका बालबालिकालाई स्वरोजगारमूलक हातमा सीप दिनु पर्यो । श्रमलाई रोक्न नारा होइन, समस्या समाधानको जगमा उभिनु पर्यो । श्रमिकका परिवारलाई रोजगारको दिनु पर्यो, ति भए पुग्छ । आशा गरेको छु यो पत्र पढेर हजुरलेसबै बालबालिकको माग सम्बोधन गरिदिनु हुनेछ ।’
प्रधानमन्त्रीलाई पत्र भन्दै १९ बालबालिकाले लेखेका पत्रमा फरक श्रमका फरक भोगाईलाई पत्रमार्फत उल्लेख गरेका छन् । सिन्धुपाल्चोक मेलम्ची घरभई उटा संस्थामा आश्रय लिइरहनु भएकी १५ वर्षीया जुनु दाहालको पीडा भयानक छ । सिन्धुपाल्चोक मेलम्चीकी दाहाल परिवारको आर्थिक अवस्था कमजोर भएको कारण मानव वेचविखनको जोखिममा पुग्दा उहाँ लगायत मनोरञ्जनका ती क्षेत्रमा पुगेका कयौं बालिकाहरुमा माथि हुने यौन हिंसाको पीडालाई उजागर गर्नु भएको छ ।
उहाँले पत्रमा लेख्नु भएको छ, ‘हामीले जबरजस्ती अरु नचिनेको अपरिचित व्यक्तिसँग यौन सम्पर्क राख्नुपथ्र्यो । हामी विरामी हँुदा, नसक्ने अवस्थामा हँदा, महिनावारी हुँदा समेत हामीलाई अरु व्यक्तिसँग यौन सम्पर्कमा राखिन्थ्यो । हामी साह्रै कमजोर हुन्थ्यौँ । हामीलाई राम्रो खाना थिएन ।  भात भन्दा धेरै जाँड रक्सी खुवाइन्थ्यो । हामीले म काम गर्न सक्दिन भन्दा कुटपिट गथ्र्यो । विरामी हुँदा आराम गर्न दिँदैन थिए । ज्वरो आयो भन्दा नाटक ग¥यो भन्थे । म अब यहाँ काम गर्दिन भन्दा त्यहाँको साहु साहुनीले ५० हजार, ६०−७० हजार तिरेर यहाँबाट जा भनेर नराम्रो शब्द बोलेर हामीलाई गाली गर्ने गर्थे । दिनमा ५० भन्दा बढी व्यक्तिसँग यौन सम्पर्कमा राख्दाको भोगाईले कति पीडा भयो होला ? सम्झदा पनि कहाली लाग्छ ।’
त्यही यौन सम्पर्कको कारणले गर्दा आज यस्तो सानो उमेरमै आफ्नो ज्यानले थाम्न नसक्ने औषधी र रोगको समाना गर्नुपरिरहेको पत्रमा लेख्दै उहाँले प्रधानमन्त्रीसंग आर्थिक अवस्था कमजोर भएको नानीबाबुहरुलाई निशुल्क संस्थाहरुमा संरक्षण गरेर राख्ने व्यबस्था गरिदिन, निशुल्क शिक्षा, स्वास्थ्य उपचार गरिदिने, यौन दुव्र्यसन हुने ठाउँतिर प्रहरीले छापा मापरेर कारबाही गर्ने, अशिक्षित व्यक्तिलई पनि शिक्षाको बाटो र रोजगारी एव सीप पुगे बाँच्ने आधार खडा हुने र बालश्रममा जानु नपर्ने उहाँले लेख्नु हुन्छ ।
उहाँ पत्रमा लेख्नुहुन्छ, ‘प्रधानमन्त्रीज्यू मैलै जस्तै पीडा अरु कसैले भोग्नु नपरोस्, मैले कार्य गरेको क्षेत्रमा अरु आबद्ध नानीहरुको मागसहित मेरो माग हो यो । त्यस्ता ठाउँमा स्थानीय तह र प्रहरीले कडा निगरानी र कारबाही गरोस्, हिंसा हुने यस्ता ठाउँहरु बन्द गरियोस्, म जस्ता नानीहरुलाई सुरक्षित ठाउँमा संरक्षण गरेर सीप र शिक्षा दिनुहोस् ।’
यी पत्र त नमूना मात्रै हुन् । प्रधानमन्त्रीलाई न्यायको माग गर्दै काभ्रेलाञ्चोकको महाभारत घरभई हाल राजधानीको एक संस्थामा आश्रय लिइरहेकी १७ वर्षकी माया तामाङ्गले आफूमाथि श्रम शोषण गर्ने र हिंसा गर्नेलाई कारबाही गरि न्याय दिन माग गर्नु भएको छ । गरिब परिवार, एक छाँक खान धौ धौ, पढ्ने खर्च जुटाउन नसक्ने अबस्थामा आफ्नै दाजू बैदेशिक रोजगारीका लागि विदेशिनु अघि आफैले काम गर्दै आएको घरमा मिठो खान, पढ्न, राम्रो पैसा कमाउन सकिन्छ भनेर घरेलु श्रममा लगाउँदाको पीडालाई पत्र मार्फत अवगत गराउनु भएको छ ।
घरमा पढ्न त परे जाओस आधा पेट खाएर बिहान ४ बजेदेखि मध्यराती १२ बजेसम्म घरको काम गर्नुपर्ने हुन्थ्यो । यो बालश्रममा परिरहँदा श्रम मात्र नभई एक हिँसा पनि हुने गरेको थियो । पीडा, राती घर मालिकले कोठामै आएर गर्ने हिंसाबाट आक्रान्त बनेको जीवनलाई उद्धार मार्फत राहतको स्वास फेर्न पाएको बताउनु भएको छ । बालश्रम र हिँसाका कारण आजसम्म आफ्नो क्षमताको विकास गर्न नसकेको बताउदै उहाँले आफूमाथि शोषण र हिंसा गर्नेलाई कारबाही गर्न माग गर्नुभयो ।
बालश्रमको अन्त्यको लागि कडा कानुनी ब्यवस्था र त्यसको कार्यान्वयनले मात्रै हुन्छ भन्दै पत्रमा उहाँ लेख्नुहुन्छ, ‘प्रधानमन्त्रीज्यू, आज यो निवेदन लेखि रहँदा एक बलियो आशा पलाएको छ । जसमा तपाईले बालश्रममा परेका धरै चेलीको समस्याको समाधान गर्नुहुनेछ । यो चेलीले त्यो बेला मात्र खुसी पाउनेछ, जुनबेला प्रधानमन्त्रीज्यूले यस समस्याको समाधान गर्नुहुन्छ । धन्यवाद प्रधानमन्त्रीज्यू मेरो निवेदनलाई एक महत्वपूर्ण कागजको रुपमा पढिदिनु भएकोमा ।’
प्रधानमन्त्रीको नाममा बिभिन्न जिल्लाबाट श्रमका लागि केन्द्रीय राजधानीका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुर बस्दै आएका बालबालिका मध्ये १३ वर्षीया सुस्मिता घले, १५ वर्षीया रञ्जु पनेरु, १५ वर्षीय कृष्ण साह, १३ वर्षीय युवराज मगर, १२ वर्षीय सुविन वाईवा, १६ वर्षीय अमित पहरी, १३ वर्षको समिर पौडेल, १३ वर्षीय राजेश गोले, १५ वर्षीय सर्मिला थिङ्ग, ९ वर्षीय सुवास वाईबा, १६ वर्षीय पेम्नुरी शेर्पा, १५ वर्षीय रेखा परियार, १६ वर्षीय सञ्जित गुरुङ्ग, १५ वर्षीय मेनुका परियार, १३ वषीृय निसन दर्जीले पत्र लेख्दै प्रधानमन्त्रीलाई बालश्रमको अन्त्यका लागि अनुरोध गरेका छन् ।
प्रधानमन्त्रीलाई बुझाउँदै पत्र :
प्रधानमन्त्रीलाई लेखिएका पत्रहरु बालबालिकाले आज अपरान्ह बालुवाटर पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने भएका छन् । सिविसकी अध्यक्ष विमला ज्ञवालीले आज अपरान्ह प्रधनमन्त्रीलाई भेट गरि बालबालिकाकै हातबाट पत्र बुझाउने जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो, “प्रधानमन्त्री बालबालिकाको सवालमा निकै सकारात्मक हुनुहुन्छ, त्यसैले बालबालिकाले लेखेको पत्र सहित प्रधानमन्त्रीले बालबालिकालाई भेट्ने कार्यक्रम तय भएको छ । बालश्रम रोक्न उहाँको भूमिका प्रभावकारी हुने अपेक्षा राखेका छौँ ।”
उहाँले विगत ३० वर्षदेखि महिला र बालबालिकाको क्षेत्रमा काम गर्दै बालश्रका अन्त्यका लागि लागिरहेको बताउदै गाउँमै गएर अभिभावकलाई स्वरोजगारमूलक कार्यक्रम लागू गरेर बालबालिकाको शिक्षामा समेत टेवा पुर्याएको बताउनुभयो ।
संस्थाले बालबालिकालाई गाउँमै रोक्न र शिक्षाका निरन्तर दिन रामेछापको मन्थली, खाँडादेवी, सिन्धुपाल्चोकको हेलम्बुलायतका क्षेत्रमा अति गरिब परिवारलाई बिउँ पूजीँको रुपमा जनही रु. ५० हजार सहयोग गरेर बिभिन्न पेशमा संलग्न गगराउँदै बालश्रम अन्त्यका लागि स्वरोजगारमूलक कार्यक्रम लागू गरेको बताउनुभयो ।  बालश्रमका क्षेत्रमा एडभोकेसी गर्दै आउँनु भएका बालअधिकारकर्मी युवराज घिमिरेले अहिले पनि ११ लाख बालबालिका प्रतक्ष्य रुपमा श्रममा रहेको र करिब दुई लाख बालबालिका जोखिमपूर्ण श्रममा संलग्न रहेको बताउनुभयो ।
नेपाल सरकारले पछिल्लो समय सार्वजनिक गरेको तथ्यांकमा पनि ५ देखि १७ वर्ष उमर समूहका १३ दशमलव ३ प्रतिशत, १४ देखि १७ वर्ष उमेर समूहका १० प्रतिशत र १४ वर्षभन्दा कम उमेरका १८ प्रतिशत बालबालिका अझै पनि श्रममा रहेको उल्लेख भएको उहाँले बताउनुभयो । सिविसले ४०० बालश्रमिकमा गरेको सर्वेक्षणमा सबभन्दा बढी गरिबीका कारण र त्यसपछि पारिवारिक हिंसाका कारण बालबालिका श्रममा आएको पाइएको छ ।
महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले बालबालिका सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०८२ मा आएका विषयलाई थप संशोधन गरेर लैजाने जानकारी दिनुभयो । उहाँले ऐन संशोधनका लागि सुझाबहरु प्राप्त भइरहेको बताउनुभयो ।
महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण मन्त्रालयका उपसचिव दीपक ढकालले ऐनमा ३७ वटा विषयहरूमा संशोधन प्रस्ताव गरिएको जानकारी दिदै जसमध्ये २२ वटा विषयहरू साविकको ऐनको प्रावधानमा संशोधन गर्नुपर्ने गरि प्रस्ताव आएको र ७ वटा विषयहरूमा नयाँ व्यवस्था थप्ने प्रस्ताव गरिएको, ८ वटा दफा÷उपदफामा सामान्य व्याख्या, व्याकरणीय त्रुटि सुधार र आनुषंगिक विषयहरू समेटिने गरि प्रस्ताव गरिएको बताउनुभयो ।  कानूनमा १४ वर्ष मुनीका बालबालिकालाई श्रममा लगाउन नपाइने व्यबस्था छ । १८ वर्ष मुनिका सबै बालबालिकालाई निकृष्ठ प्रकारको जोखिमयुक्त श्रममा लगाउन नपाईने कानूनी व्यबस्था छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।