
भक्तपुर, श्रावण २७ । भक्तपुरको सल्लाघारीबाट पुरानो थिमी जाने निकोसेरा सडक पोखरीमा परिणत भएको छ । एक महीनादेखि सडकमा ठूला पाँच पोखरी बनेर साना सवारीसाधन डुब्ने र ठूला सवारीसाधन भाँसिएर यातायात सञ्चालनमा समस्या आउँदासमेत बेवास्ता भएपछि आज स्थानीयले सडक बन्द गरेका छन् । सडक बन्द भएपछि आइतबार दिनभरी नै सो क्षेत्रमा यातायातका साधन बन्द भएका महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो । मध्यपुरथिमी नगरपालिका–९ निकोसेरा क्षेत्रको उक्त सडकमा आज बिहान परेको पानीले सडकको करीब १०० मिटर क्षेत्र पूरै पोखरीमा परिणत भएर आवातजावतमा समस्या आएपछि स्थानीयले चक्का जाम गर्दै सडक बन्द गराएका हुन् ।
सडक फराकिलो गरि कालोपत्रे गरे पनि यो क्षेत्र भने ढलको निकासले पुरिँदा विगत चार वर्षदेखि यस्तै सास्ती भोग्दै आएका छन् । सडकमा ठूला पोखरी बनेर हरेक दिन पानीले भरिएकाले स्थानीयले व्यङ्ग गर्दै सडकको नाम नै पाँच पोखरी राखेको स्थानीय रामसुन्दर प्रजापतिले बताउनुभयो । गाडीले सडकमा जमेको हिलो पानी हुत्याउँदा सडक छेउका बासिन्दा हैरान हुनुपरेको उनले बताउनुभयो ।
अरनिको राजमार्गको वैकल्पिक सडकको रुपमा रहेको निकोसेरा सडक अरनिको राजमार्ग अवरुद्ध हुँदा काठमाडौँ आउजाउ गर्न वैकल्पिक सडक हो । वडा नं ९ का वडाध्यक्ष रामकाजी चक्रधरले सल्लाघारी, निकोसेरा, पुरानो ठिमी, सानो ठिमी, पेप्सीकोला हुँदै जडीबुटी चोक भएर सो वैकल्पिक मार्गमार्फत काठमाडौँ जाने सडकमा पानी व्यवस्थापन र ढल व्यवस्थापन गर्दा भएको गल्तीले समस्या आएको बताए ।