भक्तपुर, २७ असार ।ः योग सम्बन्धी ८८ वटा योगासन सहितको सम्पूर्ण जानकारी समेटिएको पुस्तक “सम्पूर्ण योग” आज सार्वजनिक गरिएको छ ।
निरु योगा होमस्टेको आयोजना तथा भक्तपुरको जगाती स्थित रेडियो हिमालयन ९९.७ मेगाहर्जको सहयोगमा होमस्टे संचालक योगी राजन बाँस्तोलाद्धारा लिखित योग सम्बन्धी पुस्तक सार्वजनिक गरिएको हो ।
कार्यक्रममा गैरसरकारी संस्था महासंघ भक्तपुरका अध्यक्ष सोम शर्मा (बजगाई), क्रियासिल पत्रकार मञ्च भक्तपुरका अध्यक्ष रमेश गिरी, नमस्ते ख्वप टेलिभिजनका प्रमुख ऋषिकेश श्रेष्ठ, युवा व्यवसायी गोकूल वन र पुस्तक लेखक योगी राजनले पुस्तक विमोचन गर्नुभएको हो ।
कार्यक्रममा गैसस महासंघ भक्तपुरका अध्यक्ष बजगाईले चाँगुनारायण क्षेत्रमा योग पर्यटनको विकासमा तल्लिन योगी राजनको पुस्तकले योग गर्नेहरुका लागि राम्रो खुराक भएको बताउनुभयो ।
उहाँले योग पर्यटनको सम्भावना र विकासलाई अझै फराकिलो पार्न यो पुस्तक प्रभावकारी हुने बताउँदै भक्तपुरलाई योग पर्यटनको रुपमा समेत विकास गर्दै लैजानुपर्ने बताउनुभयो । भारतमा समेत चारवर्ष योग सिकाएर आउनु भएका राजनले योगका सम्पूर्ण योगासनहरु पुस्तकमा सचित्र दिएकाले सबैका लागि यो उपयुक्त हुने बताउनुभयो ।

कार्यक्रममा क्रियासिल पत्रकार मञ्च भक्तपुरका अध्यक्ष गिरीले पुस्तकमा लेखिएका शब्द र चित्रले योगप्रति रुची राख्नेहरुलाई राम्रो खुराक भएको बताउनुभयो ।
उहाँले पुस्तकमा कुन रोगका लागि कुन योग गर्ने र कुन योगासनले के फाईदा र के बेफाईदा पुर्याउछ भन्नेबारेमा समेत जानकारी दिएकाले यसले औषधिका रुपमा समेत काम गर्ने बताउनुभयो ।
कार्यक्रमममा पुस्तकका लेखक योगी राजनले साडे २ वर्षको अध्ययन, अनुसन्धान गरि १८ वर्ष लामो अनुभवलाई समेटेर तयार पारेको पुस्तक योगका बारेमा रुची राख्ने सबैका लागि उपयुक्त हुने बताउनुभयो ।
उहाँले योगको उत्पत्ति नेपालबाटै भएको र नेपालमा आउने विदेशी पर्यटकहरु समेत योग सिकेर जाने गरेकाले योग पर्यटनको सम्भावना बढेको बताउनुभयो ।
लेखक राजनले २१० पृष्ठ लामो सचित्र यो पुस्तक बिक्रीबाट संकलित रकम मध्ये २५ प्रतिशत रकम गरिब विद्यार्थीहरुको पोशाक वितरणमा खर्च गरिने बताउनुभयो । कार्यक्रममा नमस्ते टेलिभिजनका प्रमुख श्रेष्ठ, उद्यमी वन लगायतले पुस्तकलाई सहजै प्रयोगमा ल्याउन सकिने बताउनुभयो ।