२०७६ असार २८

भक्तपुर । विगत दुईदिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले पुर्याएको क्षति बुझ्न प्रतिनिधीसभाको सांसद एवं पूर्व उद्योगमन्त्री सरकारी टोली लिएर आज पीडित व्यक्तिको टोल तथा घरघर पुग्नु भएको छ । हनुमन्तेको बाढीको कहरले पीडित भएका स्थानीय बासिन्दाको अबस्था र क्षति बुझ्न सांसद बस्नेत आज राधे राधेदेखि बालकोटसम्म पुग्नु भएको छ ।
सांसद बस्नेतको नेतृत्वमा आज सूर्यबिनायक नगरपालिकाका प्रमुख बासुदेब थापा, उप–प्रमुख जुना बस्नेत, भक्तपुरका प्रहरी प्रमुख सविन प्रधान, सूर्यविनायकस्थित बीरदल गणका गणपति शिव पौडेल, शसस्त्र प्रहरीका प्रतिनिधी सहितको टोली क्षति बुझ्न घरघर पुग्नु भएको हो । भक्तपुरको राधे राधेमा निर्माणधीन ट्रष्ट पुल र मध्यपुर थिमीको शंखधरचोकबाट दधिकोट जोड्ने पक्की पुलमा भएको क्षतिको अबस्था बुझ्नु भएको छ ।
त्यस्तै थिमी चारदोबाटोमा संचालित तरकारी बजारमा भएको भौतिक क्षती, कौशल्टारको हनुमन्ते पुल नजिक रहेको बस्तीमा भएको क्षती, सोहि श्रेत्रमा संचालित मेरिगोल्ड ईङ्गलिस स्कुलमा भएको क्षतिको अबस्था जानकारी लिनु भएको छ ।
स्थलगत निरिक्षण गर्दै सांसद महेश बस्नेतले क्षतीको बिवरण संकलन गरि आबश्यकता अनुसार तत्काल राहत तथा सहयोग वितरण गर्न सरोकारवाला निकायहरुलाई निर्देशन दिनुभयो । यसका लागि आफूले पहल समेत गर्ने उहाँले बताउनुभयो ।
अनुगमनकै क्रममा राधेराधेका बासिन्दाले गतबर्ष भन्दा यसबर्ष बाढीको पानी बढेता पनि हनुमन्ते कोरिडोर निर्माणका कारण ठूलो क्षति नभएको बताएका थिए ।
यता थिमी चारदोबाटो क्षेत्रमा कोरिडोर निर्माण कार्य अबरुद्ध भएको कारण तरकारी बजार, त्यसआसपासका क्षेत्र डुबानमा परेको अनुगमन टोलीले निष्कर्ष निकालेको छ । अनुगमनमा स्थानीय गोपी न्यौपानेको स्थानीय टोलीले रोकिएको हनुमन्ते करिडोरको सबै अबरोध हटाएर तत्काल सुरु गर्न सांसद बस्नेतलाई आग्रह गर्नुभयो ।
सम्भाबित दुर्घटनाको जोखिम न्युनिकरणका गर्नका लागि हनुमन्ते नदि सफाई अभियानका तर्फबाट उत्प्रेरक रुद्र पौडेलको संयोजनमा अभियन्ता नरेश रन्जितको उप–संयोजनमा २३ सदस्यीय हनुमन्ते आपतकालिन उद्धार टोली समेत गठन गरि टोलीले रातभर कौशल्टार, थिमी, लोकन्थली राम मन्दिर लगायतका क्षेत्रमा उद्धार कार्य गरेको छ ।
दुई स्कुल डुब्यो, तरकारी बजारका १० लाखको क्षति
हनुमन्तेमा आएको बाढीले भक्तपुरको राम मन्दिरमा रहेको शान्ति निकेतन माध्यामिक विद्यालय र बालकोटस्थित मेरिगोल्ड ईङ्गलिस स्कुल डुबानमा परेको छ । शान्ति निकेतनमा पसेको बाढीले कक्षाकोठाहरुमा क्षति पुर्याएको छ । मेरिगोल्डमा पसेको बाढीले यहाँका कक्षा कोठा र सामाग्रीहरु क्षति पुगेको स्कुलका निर्देशक राजु खड्काले जानकारी दिनुभयो ।
त्यस्तै गठ्ठाघरस्थित भक्तपुर तरकारी तथा फलफूल बजारमा बाढी पसेर १० लाख बराबरको क्षति पुर्याएको संचालक श्याम बस्नेतले जानकारी दिनुभयो । बजारमा तरकारी र अन्य सामाग्रीहरुमा क्षति पुगेको उहाँले जानकारी दिनुभयो ।