हामीसँग जोडिनुहोस

आज साँझबाट सुरु भो भक्तपुरमा गाईजात्रा, सवारी प्रवेश निषेध

2 मिनेट

भक्तपुर, ३० साउन । भक्तपुरमा आठ रात नौ दिनसम्म भव्य रुपमा मनाइने गाइजात्रा पर्व आज साँझबाट सुरु भएको छ ।
जनै पूर्णिमाका दिन साँझ तौमढी स्थित भैरब मन्दिरबाट गुठी कार्यालयले पठाएको सरकारी घिन्ताङघिसी नाच निकालेर भक्तपुर परिक्रमा गरेपछि जात्रा सुरु भएको गुठी कार्यालय भक्तपुरका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
साथै आजै तलेजुको पूजा गरि तलेजुस्थित बहत्वाबाट समेत गाई निकालेर घिन्ताङ घिसी नाचसँगै प्रर्दशनसंगै विधिवत रुपमा जात्राको सुरु भएको तलेजुका मूल नाईके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो ।

बहत्वाबाट निस्किएको घेन्ताघिसी नाच नगरको दरबार स्क्वायर, बालाखु गणेश, चोछें, भोलाछें, महालक्ष्मी, नागपोखरी, क्वाठण्डौ, नवदुर्गास्थान, सूर्यमढी, दत्तात्रय, सुकुलढोका, गोलमढी, तौमढी, पोटरीस्क्वायर, वंशगोपाल, इताछें, खौमाको हुँदै दरबार स्क्वायर पुगेर समापन गरिने परम्परा छ ।

आज साँझबाट गाईजात्रा सुरु भएको र भोली गाईजात्रा पर्वको दिन दिवङ्गत व्यक्तिको सम्झनामा नेवार समुदायको घरघरबाट गाईजात्रा निकाल्ने परम्परा रहेको छ । अन्य दिन भने बिभिन्न लोपोन्मुख नाचहरु, घिनताङ घिसीनाच र व्यङ्ग्य प्रस्तुत गरेर गाईजात्रा मनाउने गरिन्छ ।

गाईजात्राको दिन नौ जोर लुगा लगाउनुपर्ने, नौ थरी खाने कुरा खानुपर्ने र नौ पटक टोल घुम्नुपर्ने परम्परा रहिआएको छ । यसदिन दिवङ्गत भएका आफन्तहरूको सम्झनामा गाईजात्राका सहभागीलार्ई श्रद्धालुहरूद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा रहेको छ ।

जात्राभरी जात्रामा घिनताङ घिसी नाच, हनुमान नाच, माकप्याख नाच, जंगली नाच, काटुन, प्ले कार्ड, प्रदर्शन गर्दै टोल टोल घुमाउने गरिन्छ ।
श्रीकृष्णजन्माष्टमीको दिन भैरब मन्दिरहरुमा नेवारी पोशाक हाकुपटासी लगाएर लामबद्ध सयौ महिलाहरुले टोल टोल घुमेर बत्ति दिने परम्परा रहेको छ । यसदिन नारायणको पुजा गरि नारायण बत्ति बालेर भक्तपुरका बालबालिका एवं युवाहरुले टाउँको, हात र शरीरमा पालाको बत्ती बालेर सूर्यमढीदेखि दत्तात्रय, सुकुलढोका, तौमढी, वंशगोपाल, इनाचो दरबार क्षेत्र हुँदै पुनः सूर्यमढी पुग्ने प्रचलन रहेको छ ।
टोलटोलबाट निकालिएका विभिन्न नाच नगर परिक्रमा गराई साँझ तलेजुको जात्रा गरेपछि गाइजात्रा सम्पन्न हुने परम्परा छ ।
भक्तपुर नगरपालिकाले नगरको मुख्यमुख्य स्थानमा जात्रा रूट पर्ने भएकाले भोली गाईजात्रामा दुईपांग्रे, चारपांग्रे सवारीसाधन प्रवेश निषेध गरेको छ । भक्तपुर नगरपालिका ९ वडाका वडाध्यक्ष रवीन्द्र ज्याख्वाले जात्रालाई व्यवस्थित र मर्यादित बनाउन नगरपालिकाले ठाउँठाउँमा पार्किङको व्यवस्था गरेको तर जात्राको रुटमा भने सवारी प्रवेश निषेध गरेको जानकारी दिनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।