श्रावण ३० । नेपालको दोस्रो गोसाइँकुण्डका रूपमा मानिने भक्तपुरको नगरकोटस्थित महादेवपोखरी कुण्डमा आज बिहान ४ बजेदेखि नै भव्य मेला लागेको छ ।
रसुवाको गोसाइँकुण्ड जान नसकेका र जान नपाएका भक्तजनले महादेव पोखरी मन्दिरमा पुगेर कुण्डमा नुहाएर महादेवको पूजा गरेमा पुण्य प्राप्त हुने मान्यता रहदै आएको छ ।
हरेक वर्ष जनैपूर्णिमामा लाग्ने मेला भर्न यहाँ काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, नाल्दुम, देउपुर, बनेपा, पनौतीदेखिका मानिस आउने गरेको नगरकोट नाल्दुम पर्यटन विकास समितिका उपाध्यक्ष धनबहादुर लामाले जानकारी दिनुभयो । उहाँले महोदव पोखरीमा मेला भर्न रातीदेखि नै भक्तजनको घुइँचो लागेको बताउनुभयो ।
यस कुण्डमा नुहाएर महादेवको पूजा गरे मनोकाङ्क्षा पूरा हुने, छाला सम्बन्धी रोग हट्ने र पुण्य प्राप्त हुने जनविश्वास रहेको जानकारी दिदै उहाँले मेला आज रातीसम्म नै सञ्चालन हुने बताउनुभयो ।
गोसाइँकुण्डको पानी महादेवपोखरीमा आउने जनविश्वासका कारण गोसाइँकुण्ड नजानेहरू यहाँ आउने पुरानो परम्परा छ । कुण्डमा विभित्र जातजातिका मानिसले आआफ्नो परम्पराअनुसार पुजा, अर्चना गर्ने, झाकी लगायतका बिभिन्न नाचहरु प्रस्तुत गरेर मेला भर्ने गरेका छन् ।
त्यसैगरी जनैपूर्णिमाका दिन आज भक्तपुरको व्यासीस्थित औद्योगिक क्षेत्रमा रहेको प्राचीन कालदह अर्थात् महादेवपोखरीमा बिहानैदेखि ठूलो मेला लागेको छ । यसदिन कालदहमा आई स्नान गर्ने र पोखरीको बीचमा रहेको महादेवको पूजाअर्चना गर्ने प्रचलन रहिआएको छ । यहाँ स्नान गर्दा शरीरमा भएको रोग नाथ हुने जनविश्वास रहेको छ । कालदहको स्नान र पूजाअर्चनापछि भक्तजन रक्षाबन्धन बाँध्ने गर्छन् ।
खेतखेतमा भ्यागुतालाई पूजा गरि र भोजन खुवाईयो
त्यसैगरि आज कै दिन भक्तपुरका किसानले बिहानै खेत—खेतमा गएर भ्यागुताको पूजा गरी भात खुवाएका छन् । जनैपूर्णिमाको अवसरमा आज बिहानै वर्षा गराउने दूत एवं प्राकृतिक देवताको स्वरूप मानेर भ्यागुतालाई विभित्र परिकारका भोजन खुवाएका हुन् ।
खेतमा पूजा गरेर भात खुवाउँदा रोपाइँको समयमा र वर्षात् सुरु हुनुभन्दा पहिले खेतमा काम गर्दा कोदालीबाट मरेका कीराफट्याङ्ग्रा र भ्यागुतालाई मारेको पापमोचन हुने जनविश्वास राख्दै यसदिन भ्यागुतालाई पूजा र भोजन गराउने प्रचलन रहेको संस्कृतिकर्मी ओम धौभडेल बताउनुहुन्छ ।
खेतमा कीरा मारेर अत्र उब्जाउन समेत सहयोग गर्ने प्राकृतिक देवताका रूपमा भ्यागुतालाई सिमीको पातमा खाद्य परिकार राखेर खेत खेतमा गई पूजा तथा भोजन गराउने परम्परा रहेको संस्कृतकर्मीहरु बताउँछन् । वर्षौदेखि परम्परागत रुपमा भ्यागुतालाई भोजन गराउने यहाँको प्रचलनलाई स्थानीय नेवारी भाषामा ब्याँजा नकः वनेगु भत्रे गरिन्छ ।