
६ भाद्र २०७६, जनकपुरधाम । प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले वन फडानी गर्ने संघीय सरकारको षडयन्त्रलाई कुनै पनि हालतमा सफल हुन नदिने बताउनुभएको छ । शुक्रबार उद्योग वन तथा पर्यटन मन्त्रालयद्वारा सागरनाथ वन विकास परियोजना अन्तर्गत महोत्तरीको लक्ष्मिनियामा आयोजित वृक्षा रोपन कार्यक्रममा मुख्यमन्त्री राउतले संघीय वन मन्त्रालयले सागर नाथ वन विकास परियोजनालाई निगममा परिणत गरेर बन फडानी गर्ने षडयन्त्र प्रदेश सरकारले सफल हुन नदिने बताउनुभयो ।
उहाँले बन र चुरेको संरक्षण गर्न नसकिए प्रदेश नै मरुभूमिमा परिणत हुने खतरा रहेकोले आफुहरु बन र चुरे जोगाउन जस्तो सुकै कदम चाल्न तयार रहेको बताउनुभयो । वन प्रशासन र प्रहरीको मिलेमतोमा संगठित रुपमै बन फडानी गर्ने कार्य भइ रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले त्यो कार्य प्रदेश सरकारलाई सह्य नरहेको उल्लेख गरे। उनले आजकै मिति देखि बन जोगाउने कार्यमा सक्रिय हुन बन प्रशासनलाई निर्देशन समेत दिनुभयो ।
प्रदेश सरकारले सागरनाथ वन विकास परियोजना अन्तर्गत महोत्तरीको लक्ष्मिनियाँमा आज २० हेक्टरमा ३० हजार वृक्षा रोपण गरेको छ ।