
बागलुङ,१२ भदौ । प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका एक जना कार्यकर्ताले बिहीवार बागलुङमा आत्मसमर्पण गरेका छन् । ढोरपाटन नगरपालिका–१ बुर्तिबाङका हरिबहादुर कुँवरले जिल्ला प्रशासन कार्यालय बागलुङमा पुगेर आत्मसमर्पण गरेका हुन् । उनी चन्द समूहका सक्रिय र भूमिगत कार्यकर्ता भएकाले प्रहरीले उनलाई गत साउन १८ गते बुर्तिबाङबाट पक्राउ गरेको जनाएको छ । बुर्तिबाङ बजारमा फार्मेसी पसल सञ्चालन गरेको बसेको अवस्थामा नै पक्राउ परेका कुँवरले २६ दिनको हिरासतबाट निस्केपछि आगामी दिनमा कुनै पनि बैठक, भेला र सम्मेलनमा सहभागी नहुने प्रतिबद्धता व्यक्त गरेका छन् ।
जिल्ला प्रहरी कार्यालयसँगको सहकार्यमा उनले प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, प्रहरी उपरिक्षक नवराज भट्ट, विभिन्न राजनीतिक दलका प्रमुख तथा पत्रकारहरुको रोहबरमा आत्मसमर्पण गरेका हुन् ।