
१५ भाद्र २०७६ , पोखरा | डेंगुको संक्रमण पोखरामा दिनप्रतिदिन फैलँदो छ । साउन १६ गते पहिलोपटक पोखरा ८ शिवालयचोकमा १ व्यक्तिमा देखिएको संक्रमण शनिबारसम्म ४ सय ६० जनामा फैलिसकेको छ । विगत ३ वर्षदेखि पोखरामा निरन्तर डेंगुको प्रकोप देखिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका वरिष्ठ मेडिकल अफिसर डा. भोजराज गौतम बताउँछन् । त्यसयता लगातार शिवालयचोकबाट नै डेंगु संक्रमण सुरु भएको छ । शिवालयचोकबाटै डेंगु फैलिनुको मुख्य कारण भने त्यहाँ रहेका कवाडीखाना नै रहेको स्थानीय बताउँछन् ।
‘यसअघिका वर्षमा डेंगुको प्रकोप यहीँबाट देखिँदा हामीले पटकपटक ध्यानाकर्षण गराएका थियौँ’ शिवालयचोक टोल विकास संस्थाका अध्यक्ष गिरिधारी अधिकारीले भने, ‘आवादी क्षेत्रमा रहेका कवाडीखाना नहटाएसम्म डेंगु नियन्त्रण हुन सक्दैन ।’
संक्रमण फैलिइसकेपछि नियन्त्रण गर्न हम्मे पर्ने स्थिति आउँदासम्म पनि उक्त कवाडीखाना अन्यत्र सार्न सरकारी प्रयास नभएको उनले गुनासो पोखे ।
‘सय मिटरमा ३ वटा कवाडीखाना छन् । एउटा कवाडीखानामा अझै पनि ५० भन्दा बढी थोत्रा टायर छन्’ उनले भने, ‘हामीले गएर तान्न पनि नमिल्ने । यहाँबाट अन्त जाऊ भन्न पनि नसकिने, वडा कार्यालयमा निरन्तर लिखित र मौखिक गुनासो गर्दै आएका छौँ । काम भएको छैन ।’
लामोसमयसम्म पानी जम्ने भाँडा नष्ट गर्ने क्रममा स्थानीयमाथि नै आक्रमणसम्मको प्रयास हुँदा आफूहरुले केही गर्न नसकेको उनी बताउँछन् । ‘नजिकै प्रहरी छन् । महानगरका नगर प्रहरी पनि छन् । हामीमाथि आक्रमणसम्मको प्रयास हुँदा उहाँहरु नबोली बस्नुभयो । हाम्रो एकल प्रयासले मात्रै केही लागेन’ अधिकारीको गुनासो छ ।