१७ भाद्र २०७६ । गायक रामकृष्ण ढकाललाई श्री लालीगुराँस नामको सहकारी संस्थाबाट ऋण लिएपछि हैरानी पाएका हुन् । ऋणका कारण उनको घरजग्गा मात्र लिलाम भएको छैन, सहकारीले आफ्नो बदनाम गर्न खोजेको उनको बुझाइ छ
पछिल्लो समय रामकृष्ण र श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाबीच आरोप प्रत्यारोप चलिरहेको छ । यो विवाद एक दशक अघि देखि चल्दै आएको हो ।
गायक रामकृष्ण ढकाल लाजिम्पाटस्थिर्त याडिसन होटल पछाडिपट्टि बस्थे । उहाँलाई बंगलो खालको घर लिने रहर भयो । अनि ललितपुरको हात्तीगौंडास्थित कोलोनीमा सरे । एक त अलि टाढा, त्यसमाथि अलि ठूलो घर । डेढ–दुई वर्षमै उनको रहर पुग्यो ।
कोलोनीको घर भाडामा दिएर हामी कतै भाडामा बस्ने परिवारमा सल्लाह भयो । घरबाट महिनाको करिब ५०–६० हजार रुपैयाँ भाडा आउने अनुमान थियो । कतै फ्ल्याट लिएर बस्दा आधा रकम पर्याप्त हुने अनि करिब आधा रकम जोगिने उनको हिसाब थियो ।
रामकृष्ण घरको रेखदेखका लागि त्यहाँ नजिकै बस्न चाहन्थे । तर आफन्त र नातेदार नजिक हुने भएकाले भैंसेपाटीतिर फ्ल्याट खोज्न थाले ।
ललितपुर पुल्चोकमा मुख्य कार्यालय रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका एक जना सञ्चालकसँग रामकृष्णको चिनजान थियो ।
सहकारीका कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले उनलाई ‘ज्वाइँ साप’ भनी नाता लगाउने गर्थे । सुरेन्द्रले उनको निवासमा आएर ‘भैंसेपाटीमा घर छ, यो हाम्रो हो’ भनेर भाडामा बस्न अफर गरे । रामकृष्णको परिवार करिब ६ महिना त्यही घरमा भाडामा बस्यो ।
एक दिन सुरेन्द्र घर मिलाइदिने प्रस्ताव लिएर रामकृष्णकहाँ पुगे । उनी रेकर्डिङका लागि बारम्बार मुम्बई जाने आउने गरिरहेका थिए । श्रीमती नीलमले गएर घर हेरिन् । उनलाई ठीकै लागेछ ।
लालीगुराँसकै भण्डारीले लोन मिलाइदिने भए । ९ आनामा बनेको साढे दुई तले घर लालीगुराँसको १ करोड ८० लाख रुपैयाँ लोनसहित २०६६ फागुन ४ गते नीलमका नाममा पास भयो।
गायक ढकालले सुनाए, ‘मसँग करिब २५–३० लाख रुपैयाँ थियो । हामी मिलाइदिन्छौं भनेर उहाँ (भण्डारी) ले भन्नुभयो । मैले १ करोड ८० लाख रुपैयाँ त्यहाँबाट लिएँ । घरको मूल्य करिब २ करोड २५ लाख रुपैयाँ थियो । पास, मर्मत सम्भारमा अलिअलि खर्च भयो।’
घर लिएपछि रामकृष्णले ऋण तिर्न थाले । करिब १७ प्रतिशत ब्याज र अन्य खर्च गर्दा मासिक करिब ३ लाख रुपैयाँ बुझाउनुपर्ने भयो। रामकृष्णलाई ऋण तिर्न हम्मे पर्न थाल्यो । ऋण र त्यसको ब्याज नतिर्दासम्म घरजग्गा फुकुवा हुँदैनथ्यो।
जिल्ला अदालतको अभिलेखमा २०६८ वैशाख २९ गतेसम्म उनले ३० लाख २४ हजार बुझाएको देखिन्छ । रामकृष्ण भन्छन्, ‘दुई वर्षमा मैले ब्याजसमेत गरेर करिब ४८ लाख रुपैयाँ तिरेको छु।’
उनले कुनै ग्राहक खोजेर घरजग्गा बेच्ने र सहकारीमा तिर्ने अनि बाँकी ऋण बैंकमा सार्ने योजना बनाए । सहकारीको १७ प्रतिशतको तुलनामा बैंकको ब्याज सस्तो हुन्थ्यो । उनकै भनाइमा जरिवाना अनि ब्याजको स्याज तिर्दा ३६ प्रतिशत हुन लागेको थियो।
रामकृष्णका अनुसार यसबीचमा सहकारीका सञ्चालक र कार्यकारी निर्देशक भण्डारीको व्यवहार फरक हुन थाल्यो । भण्डारीले पछि फोन नउठाउने, भेट्न नखोज्ने गर्न थाले । गायक रामकृष्णले भने आफू अप्ठेरोमा परेको भन्दै समाधानका लागि हारगुहार गरिरहे।
‘यो बेचेर तपाईंहरूको ऋण तिर्छु, मलाई अवसर दिनुहोस् भन्न थालें,’ उनले सुनाए, ‘उहाँले सीसीटीभीबाट हेरेर मलाई देख्नेबित्तिकै वास्तै नगर्ने अनि काउन्टरमा जानु भन्न थाल्नुभयो । एकदमै हीनताबोध भयो।’