
१८ भाद्र २०७६ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग निकट रहेको आरोपमा पक्राउ परेका पत्रकार ओम हमाललाई महानगरीय प्रहरी परिसर काठमाडौंले सार्वजनिक हितविरूद्धको कार्य गरेको भन्दै अनुसन्धान थालेको छ ।
हमालको कसुर भने प्रहरीले केही उल्लेख गरेको छैन । विप्लवको पार्टीसँग आस्था राखेकै आधारमा उनलाई पक्राउ गरिएको भन्दै नेपाल पत्रकार महासंघले आन्दोलन नै गरेको छ । हमाललाई रिहाइ माग्दै बुधबार देशभरि महासंघको अगुवाइमा आन्दोलन भइरहेको छ।
बिना कसुर पक्राउ गरेको भन्दै पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेका थिए । रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश केदारप्रसाद चालिसे र ईश्वर खतिवडाको इजलासले हमाललाई रिहा गर्न आदेश दिएको थियो । तर, रिहा भएलगत्तै प्रहरीले उनलाई फेरि मंगलबार पक्राउ गरेको थियो।