
२२ भाद्र २०७६ । उदयपुरको पहाडि क्षेत्रमा पर्ने एक दर्जन गाउँका सर्वसाधारण व्यवसायिक अम्रिसो खेतीमा लागेका छन् । भिरालो तथा पाखो बारीबाहेक अन्य कुनै जमिन नभएका जिल्लाको रौता, इनामे, आँपटार, सिरिसे, रुपाटार, नामेटार, हर्देनीलगायतका गाउँका स्थानीयले विगत ४ वर्षदेखि व्यवसायिक रुपमा अम्रिसो खेती गर्दै आएका हुन् ।
१० पाथी मकै र कोदो नफल्ने पाखो बारीमा रोपेको अम्रिसोबाट ३५ देखि ५० हजार रुपैयाँसम्म आम्दानी भएपछि यसको व्यवसायिक खेतीमा अन्य किसानकोसमेत आकर्षण बढेर गएको छ । ‘केही नहुने पाखाबारीमा लगाएको अम्रिसोबाट २२ हजार कमाइ भयो’ रौताका जंगबहादुर पुलामी मगरले भने, ‘एक हजार रुपैयाँको अन्न नफल्ने बारीमा रोपेको अम्रिसो बेचेर २२ हजार रुपैयाँ आम्दानी गर्दा सपना झैं लागेको छ ।’ प्रयास गरे अम्रिसोले राम्रो आम्दानी दिने उनले बताए ।
अम्रिसोबाट भएको आम्दानी देखेर यहाँका अधिकांश स्थानीयले ३ वर्षदेखि आफ्नो पाखोबारीमा अम्रिसो लगाएका छन् । घर सफा गर्न अत्यावश्यक कुचो बनाउने खरको गाउँघरमा समेत अभाव हुँदै गएकोले अम्रिसोको महत्व बढेर गएको उनीहरुको भनाई छ ।