
१ असोज २०७६ । नवलपरासीपूर्व नवलपुरको धौवादीमा रहेको फलामखानी उत्खननका लागि सरकारले अग्रसरता देखाएको छ । सरकारले धौवादी फलामखानी लिमिटेड कम्पनी स्थापना गर्ने गरी मन्त्रिपरिषद्बाट निर्णय गरेसँगै फलाम खानी उत्खननका लागि बाटो खुलेको छ । खानी तथा भू–गर्भ विभागले समेत थप अध्ययनको कामलाई निरन्तरता दिँदै आएको छ ।
फलाम खानी सञ्चालनका लागि सडक विभागले समेत बाटो निर्माणको काम गरिरहेको छ । अहिले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय, खानी तथा भू–गर्भ विभाग र सडक विभागबाट फलाम खानीको उत्खननका लागि अग्रसरताका साथ काम भइरहेको छ ।
फलाम खानी सञ्चालनको पहिलो पूर्वाधार सडक निर्माण भएकाले सडकको ट्र्याक खोल्ने काम तीव्रगतिमा चलिरहेको छ । पूर्वपश्चिम राजमार्गको डण्डादेखि करीब २० किलोमिटर र हुप्सेकोट गाउँपालिकाको झ्यालबासदेखि १४.५ किलोमिटरको दूरीमा रहेको फलाम खानीको हालसम्म छ किलोमिटर बाटोको ट्र्याक खोल्ने काम सकिएको छ । गत वर्ष विनियोजन गरिएको करीब पाँच करोड रुपैयाँ बजेटले छ किलोमिटर बाटो ट्र्याक खोल्ने काम सकिएको छ ।