
१५ असोज २०७६ ।
दशैको सुरुवात सँगै भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकाबाट घर फर्कनेको लर्को लागेको छ ।
रोजगारको सिलसिला भारतका विभिन्न ठाँउहरुमा गएकाहरु घर फर्किन थालेका हुन् । सीमावर्ती भारतीय सहर झुलाघाट, पिथौरागढमा काम गर्न गएका सुदूरपश्चिमका पहाडी जिल्ला र कर्णाली प्रदेशका विभिन्न जिल्लाका नागरिक झुलाघाट नाकाबाट घर फर्किन थालेका हुन् ।
सीमा नाकाबाट आजभोली दैनिक तीनसय बढी मानिस स्वदेश फर्कने गरेका सीमा प्रहरीचौकी झुलाघाटका प्रहरी नायव निरीक्षक जनकसिंह धामीले बताए । उनले भने, ’गएको १५ दिनयता सीमा नाकाबाट घर फर्किनेको लर्को लागेको छ । कामका लागि भारत पसेका दसैंका लागि घर फर्कने गरेका छन्।’
बझाङको बित्थडचीर गाउँपालिका सुनकुडाका परमानन्द जोशी बिसु मनाएर रोजगारीका लागि भारतको पिथौरागढ पुगेका थिए । करीब ६ महिना काम गरेर दसैंका लागि उनी घर फर्किएका छन् । उनले भने, ’हाम्रो गाउँघरमा दसैंको बेला मठमन्दिरमा पूजाआजा हुनेगर्छ । गाउँका आफन्तसँग भेटघाट हुन्छ। त्यसैले दसैं मनाउन घर फर्केको हुँ ।’
परमानन्द जोशीसँग सोही ठाउँका वीरभद्र जोशी पनि गोठलापानी बसपार्कमा बझाङका लागि गाडी खोजीरहेको अवस्थामा भेटिए । उनले पनि दसैंमा आफन्तसँग भेटघाट हुने भएकाले घर फर्किएको हुँ।