
१६ असोज २०७६ ।
विर्तामोड नगरपालिकाले खाना पकाउने एलपी ग्यासको सट्टा गोबर ग्यासको प्रयोग गर्न नगरवासीलाई आग्रह गरेको छ । गोबर ग्यासको प्रयोग गर्दा एलपी ग्यासभन्दा सस्तो र स्वास्थ्यका दृष्टिकोणले समेत बढी लाभदायक हुने भन्दै नगरवासीलाई यस्तो आग्रह गरिएको हो । समय–समयमा एलपी ग्यासको अभाव भइरहेका बेला नगरपालिकाले विर्तामोड नगरवासीलाई प्रोत्साहन गर्दै पशुपालक कृषकको घर–घरमा अहिले निःशुल्क गोबर ग्यासका प्लान्ट जडान गरिरहेको छ ।
नगरपालिकाले गत आर्थिक वर्षमा १०० घरमा खाना पकाउने एलपी ग्यासको सट्टा गोबर ग्यासका प्लान्ट जडान गरेको थियो । गोबर ग्यास राख्न अधिकांश कृषकले चासो देखाएपछि चालू आर्थिक वर्षमा पनि नगरपालिकाले थप २०० घरमा निःशुल्क गोबर ग्यासका प्लान्ट निर्माणको काम शुरु गरेको विर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले बताउनुभयो ।