
काठमाडौँ, २४ साउन ।
तालिबान विद्रोहीहरूले सेबेरघान सहरमाथि कब्जा जमाएका छन् । विद्रोहीले २४ घण्टाभित्र दोस्रो प्रान्तीय राजधानीमाथि कब्जा जमाएको सहरका डेप्यूटी गभर्नरले जानकारी दिएका छन् । जवजान प्रान्तको राजधानी सेबेरघनका डेप्यूटी गभर्नर कादेर मालियाका अनुसार सरकारी फौज र अधिकारीहरू यति बेला उत्तरी अफगान सहरको विमानस्थलमा एकीकृत भएका छन् । उनीहरूले त्यहाँ आफूलाई जोगाउने प्रयास गरिरहेका छन् । तालिबानले पनि सेबेरघन सहर आफ्नो कब्जामा आएको विज्ञप्ति जारी गरेको छ । सरकारले भने तालिबानले सहरमा पूर्ण रूपमा नियन्त्रण कायम गरिनसकेको दाबी गरेको छ ।एजेन्सी ।






