
काठमाडौं, २४ साउन । सरकारलाई सहयोग गर्न सत्तारुढ गठबन्धनले बनाएको कार्यदलले बुझाएको प्रतिवेदनलाई अन्तिम रुप दिइएको छ । आज बिहान प्रधानमन्त्री निवासमा बालुवाटारमा बसेको प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका शीर्ष नेताहरु, मन्त्रीहरु र कार्यदलका संयोजक सहभागी रहेको बैठकले प्रतिवेदनलाई अन्तिम रुप दिएको हो । प्रतिवेदनलाई आज अपरान्ह ४ बजे सार्वजनिक गर्ने तयारी गरिएको छ । सत्तारुढ कार्यदलले गएको शुक्रबार प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केशीलाई न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन बुझाएको थियो । त्यसैगरी बालुवाटारमा हिजो बसेको गठबन्धनको बैठकले सो प्रतिवेदन आज सार्वजनिक गर्ने निर्णय गरेको हो । कार्यदलले ‘संयुक्त सरकारको साझा नीति तथा कार्यक्रम’ मा सरकारका प्राथमिकताहरु निर्धारण गरिएको छ जसमा कोरोना महामारी नियन्त्रणलाई प्राथमिकतामा राखेको छ । कोभिड –१९ बाट उत्पन्न महाविपत्तिबाट मुक्तिका लागि आगामी असोजसम्ममा एक तिहाई नागरिकलाई र चैत मसान्तसम्ममा खोप लागउन योग्य सबै नेपालीलाई निशुल्क खोपको व्यवस्था गर्ने, स्वास्थ्यकमीहरुका लागि व्यक्तिगत सुरक्षा साधन पीपीई, उपचारमा खटिएका स्वास्थ्यकर्मीहरु, अस्पतालका कर्मचारी, एम्बुलेन्स चालक, सफाई मजदुर तथा सुरक्षाकर्मीहरुलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने आदि योजनाहरु प्रतिवेदनमा उल्लेख गरिएको छ ।






