
काठमाडौं, २८ साउन ।
नेकपा एमालेले लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनलाई सघाउने दुई जना सांसदमाथि कारबाही गर्ने भएको छ । विपक्षी गठबन्धनलाई सरकार निर्माणमा सहयोग गर्ने सांसदहरु विमला वली र अजय शाहीलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढाएको एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिनुभयो । उहाँले सांसद वलीलाई कारबाही गरेको पत्र केन्द्रीय कमिटीबाट पारित भएर आउने क्रममा रहेको र शाहीलाई स्पष्टिकरण सोध्ने तयारी भएको जानकारी दिनुभयो । प्रमुख सचेतक ढकालले दुवैलाई बर्खास्त गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । सूर्य चिन्हबाट चुनाव जितेका सांसदद्वय वली र शाहीले विपक्षी गठबन्धनलाई सघाएका छ । वलीले गत फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्यूँताएपछि एमाले रोज्नुभएको थियो । पछि फेरी आफूले माओवादी केन्द्र रोजेको भन्दै अर्को विज्ञप्ति जारी गर्नुभएको थियो । तर, एमालेले सूर्य चिन्हबाट चुनाव जितेको र संसदीय दलका बैठकमा समेत भाग लिएको भन्दै कारबाही प्रक्रिया अगाडि बढाएको हो ।