
काठमाडौं, २३ भदौ ।
विश्वकपको युरोपियन छनोट अन्तर्गत मंगलबार राति भएको खेलमा नेदरल्यान्ड विजयी भएको छ । उसले घरेलु मैदानमा १० खेलाडीमा सीमित टर्कीमाथि ६–१ को सहज जित हात पारेको हो ।
नेदरयान्डको जितमा मेम्फिस डिपाएले ह्याट्रिक पूरा गर्दा डेभी क्लासेन, गुस टिल र डोनिल मलेनले १–१ गोल गरेका थिए । खेलको दोस्रो मिनेटमै क्लासेनले गोल गर्दै नेदरल्यान्डलाई अग्रता अग्रता दिलाएका थिए । १६औँ मिनेटमा डिपाएले टोलीको अग्रता दोब्बर बनाए । डिपाएले नै ३८औँ मिनेटमा पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेका थिए ।
जितसँगै ६ खेलमा १३ अंक जोडेको नेदरल्यान्ड समूह ‘जी’ को शीर्ष स्थानमा उक्लिँदा टर्की समान खेलबाट ११ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ । एजेन्सी