
काठमाडौँ, २३ भदौ ।
चितवनको भरतपुर महानगरपालिका–१० मा वीरगन्जबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख १५८२ नम्बरको बसले हिजो राति करिब सवा ११ बजे पैदल हिँडिरहेका व्यक्तिहरूलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट एकजनाको मृत्यु र एकजना घाइते भएको जनाइएको छ । पैदलयात्री लमजुङको बेसीसहर नगरपालिका–६ का २२ वर्षीय विनोद अधिकारीको मृत्यु भएको हो । बसको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा गए राति साढे १ बजे भरतपुरस्थित चितवन मेडिकल कलेजमा मृत्यु भएको जनाइएको छ । घाइते पैदलयात्री २० वर्षीय महादेव भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ । बससहित चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको जनाइएको छ ।