
काठमाडौं, २९ भदौ ।
एमालेको अवरोध संसद विरोधी सोचकै निरन्तरता भएको सर्वदलीय बैठकको निष्कर्ष निकालेको छ । सभामुखले आह्वान गरेको संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठकमा सहभागी नेताहरुले एमालेको अवरोध संसद विरोधी सोचकै निरन्तरता भएको निष्कर्ष निकालेका हुन् । हिजो संसद भवन नयाँ बानेश्वरमा सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको बैठकमा सहभागी कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाका शीर्ष नेताहरुले एमालेले पहिला पनि विघटन गरेको र त्यसको निरन्तरताका रुपमा अवरोध गरेको निष्कर्ष निकालेका हुन्।
बैठकको सुरुमै सभामुख सापकोटाले अवरुद्ध संसद खुलाउन कसरी अघि बढ्नुपर्छ भन्ने सुझाव माग गर्नुभएको थियो । उहाँले विपक्षीसँग संवादको प्रयास भए पनि उसले नचाहेको गुनासो नेताहरुसँग गर्नुभएको थियो ।
बैठकमा सहभागी एकीकृत लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुरले भने अरु नेताहरुको भन्दा भिन्न विचार व्यक्त गरेको बताइएको छ । उहाँले संसद अवरोध यसअघि पनि हुने गरेको र अहिले हुनु नौलो नभएको टिप्पणी गर्नुभएको थियो । तर जसपाका अध्यक्ष उपेन्द्र यादवले भने एमाले अध्यक्ष केपी ओलीको संसद विरोधी चरित्र अहिले पनि देखिएको दाबी गर्नुभएको थियो ।
प्रमुख प्रतिपक्षी दल एमालेले आफूले कारबाही सिफारिस गरेका १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने र सभामुखले पदबाट राजीनामा दिनुपर्ने माग राख्दै भदौ २३ गतेदेखि संसद अवरोध जारी राखेको छ। पार्टीले कारबाही गरिसकेका सदस्य पदमुक्त भएको सूचना नटाँसेर सभामुखले एमाले विभाजनमा भूमिका खेलेको आरोप लगाएको छ। उसले भदौ २३ यता सातवटा बैठकमा नाराबाजी गर्दै आएको छ।