
-रमेश गिरी
भक्तपुर, १७ असोज : नेपालीहरुको महान् चाँड दशैँ तिहार नजिकै आइसकेको छ । दशैँ नजिकिएसँगै बजारमा उपभोक्ताहरुको भीड लाग्न थालेको छ । चाँडबाँडको मौकामा बजारमा व्यापारीहरुको मनोमानी बढ्दै गएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा वाणिज्य विभाग, साना तथा घरेलु उद्योग कार्यालय, खाद्य गुणस्तर विभाग, प्रहरी, उपभोक्ता महासंघ, नगरपालिका र पत्रकारसहितको टोलीले शुरु गरेको बजार अनुमगनमा यस्तो पाइएको हो । बजार अनुगमनको क्रममा ठूला व्यापारिक केन्द्रको रुपमा चिनिएको भाटभटेनी सुपर मार्केटदेखि स्थानीय खुद्रा व्यापारीसम्मले उपभोक्तालाई ठगि गरेको पाइएको छ ।
आज बिहान भक्तपुरको सूर्यविनायक क्षेत्रमा भएको अनुगमनमा सेल्सबेरीमा खरिद बिलनै नराखी आफैले मूल्य सूचीँ टाँसेर सामान बिक्री गरेको पाइएको छ । दैनिक उपभोग्य सामानमा समेत पसलै पिच्छे फरक मूल्य रहने गरेको बजार अनुगमनका क्रममा पाइएको छ । अनुगमन टोलीले बिभिन्न सामानहरुको मूल्य माथि प्रश्न गर्दै सामान खरिद बिल हेर्न खोज्दा खरिद बिलनै नराखेको पाइएको छभने नापतौलमा फरक परेको पाइएको छ । नापतौलको अनुमतिसमेत नलिएको पाइएपछि तीन दिन भित्र कार्यालयमा उपस्थित भई सम्पूर्ण कागजपत्र पेश गर्न निर्देशन दिएको छ ।
सूर्यविनायककै मानन्धर हार्डवेयरमा उपभोक्तलाई नाफा छुट नदिई बिक्री गरेको पाइएको छ । हार्डवेयरले कम्पनीसँग बोनस र छुट लिए पनि उपभोक्तालाई छुट नदिएको र ढुवानी, लोड अनलोडको नाममा थप शुल्क लिएर सामान बिक्री गरेको पाइएको छ । सूर्यविनायककै चम्पकेश्वर हार्डवेयरको अनुगमनमा सातवर्षदेखि नापतौलको अनुमतिनै नलिई सामान बिक्री गरेको पाइएको छ । आवश्यक बिल बिजकसमेत नराखेको पाइएको छ ।
सूर्यविनायकको दिपु इम्पेक्समा अनुगमन गर्नुका साथै चुनदेवीस्थित चुनदेवी स्टोरमा गरिएको अनुगमनमा टोलीले कारबाही गरेको छ । चुनदेवी स्टोरको सञ्चालक निलिमा कार्मचार्यलाई तत्कालै रु. १० हजार जरिवाना गरेको छ । स्टोरले बिल बिजक देखाउन नसकेको, अत्याधिक फोहोर गरेको, म्याद गुज्रेका सामान बिक्रीमा राखेको, कालो बजारी गरेको पाइए पछि कारबाही गरिएको जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिनुभयो ।
यसअघि प्रशासनको नेतृत्वमा मध्यपुरथिमि–४ राधेराधेस्थित भाटभटेनी सुपर मार्केटको अनुगमनमा भाटभटेनीले खरिद बिलविजक साथमा नराखेको, तरकारीका प्याकेटका तौल उल्लेख नगरेको र केही वस्तुमा अस्वाभाविक मुनाफा राखेर बिक्री वितरण गरेको पाईएको उहाँले जानकारी दिनुभयो ।
अनुगमनका क्रममा दैनिक उपभोग्य वस्तु कालोबजारी गरेको पाईएको थियो भने चिनीमा कालो बजारी सम्बन्धी ऐनले तोकेको खरिद मूल्यको २० प्रतिशत भन्दा बढी मुनाफा लिएर वस्तु बिक्री वितरण गरेको पाईएको छ । ऐनले यसो गरेमा कालोबजारी गरेको ठहर्ने व्यवस्था गरेको छ । भाटभेटेनीले चिनीमा २५ प्रतिशत नाफा राखेर बिक्री गरेको पाइएको छ ।
भाटभटेनीले ७१ रुपैंया ५० पैसामा खरिद गरेको चिनी ८९ रुपैंया बिक्री वितरण गरेर उपभोक्तालाई ठगी गरेको पाईएको छभने बोतलको पानी २६ रुपैंयामा खरिद गरेर ४५ रुपैंयामा बिक्री गरेको पाईएको छ । अनुगमनका क्रममा ग्राहक अफरका नाममा बिस्कुटका प्याकेट टुटेको फुटेको समेत बिक्रीका लागि राखेको, तरकारी र फलफुलमा उपभोक्तालाई ठगी गरेको, तरकारीका प्याकेटमा मुल्य राखेपनि तौल नराखेर प्रति केजी मूल्य कति हो ? उपभोक्तालाई जानकारी नदिइ बिक्री गरेको पाईएको छ ।
भोटभेटेनीमा उपभोग्य सामानमा मिति नाघेका वस्तु र उपभोग्य वस्तू एकैस्थानमा भण्डार गरेर बिक्री गरेको, बिस्कुट र चकलेटमा प्याकेटमा अंकित मुल्य भन्दा दोब्बर मुल्यमा बिक्री गरेको पाईएको छ । भाटभेटेनीको प्राङ्गणमै रहेको केएफसी चिकेन र पिजा हन्टले स्थानीय नगरपालिकामा व्यवसाय दर्ता नगरेको पाईएको छ । तेलमा पनि बढी मूल्य लिएर बिक्री गरेको पाइएको छ । भाटभटेनीले कालोबजारी गरेको र उपभोक्ता ठगि गरेको पाइए पछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले ५० हजार जरिवाना गरेको सहायक प्रजअि केशरीले जानकारी दिनुभयो ।
उपभोक्ता मञ्चका अध्यक्ष मनोज थापाले बजारमा अनियमितता बढेको बताउनुभयो । उहाँले भाटभटेनीमै पनि अनियमितता रहेको, ऐन विपरित नाफा ८० प्रतिशतदेखि ३०० प्रतिशतसम्म राखेको पाइएको उहाँले जानकारी दिनुभयो । खाद्यान्न, तेल, घिउँ, चिनी लगायतमा २५ प्रतिशतदेखि ८० प्रतिशतसम्म बढी मूल्य लिएको र लत्ताकपडामा ३०० प्रतिशत, चामलमा बोरामै ३०० देखि ४०० रुपियाँसमेत बढी मूल्य लिएको पाइएको थापाले जानकारी दिनुभयो । यहाँ हर्वल मिसावट चिनीमा आधा किलोको १५८ रुपियाँ लिएको बताउनुभयो । चाँडबाँडको मुखमा सरकारी निकाय डिडिसीले समेत तेल र घिउँमा १०० रुपिायँ बृद्धि गरेको पाइएको उहाँको भनाइ छ ।
हार्डवेयरहरुले डण्डीदेखि सिमेन्टसम्ममा उपभोक्तालाई ठगि गर्ने पाइएको बताउनुभयो । कम्पनीसँग छुट र बोनस लिने तर उपभोक्तालाई छुट नदिई उल्टै ढुवानी, लोड अनलोडको चार्ज भन्दै बढी मूल्य लिएर ठगि गर्ने गरेको पाइएको छ । सिमेन्टमा एक बोरामा रु.४५ ठगि गरेको पाइएको उहाँले बताउनुभयो । केही समय अगाडि सूर्यविनायकको शक्ति ब्राण्डको पाउरोटीमा किरा परेको भेटिएको स्मरण गर्दै अनुगमनलाई नियमित गरि कारबाहीको थालनी नगर्दा व्यापारीको मनोबल बढ्ने गरेको उहाँको भनाइ छ । अनुगमन गर्ने तर कारबाही नगरी फर्कने प्रबृत्तिनै गलत भएको उहाँको भनाइ छ ।
आजको अनुगमनकै क्रममा सूर्यविनायकस्थित दिपु इम्पेक्सका सञ्चालक दिनेबहादुर धौबञ्जारले चाँडबाडको मुखमा चिनी, खाने तेल, चामल र दालमा अत्याधिक मूल्य बृद्धि भएर आएको बताउनुभयो । नेपालको चिनीलाई निरुत्साहित गरि भातीय चिनीको आयात बढ्दा बजारमा मनोमानी भएको बताउदै उहाँले भारतबाट आयात गरिएका धेरै म्याद गुज्रेका खाद्यान्नमा नेपालका डिलरले नयाँ स्टिकल टाँसेर पुनः बजारमा पठाउने गरेको पाइएको बताउनुभयो । पसललाई मात्रै दोष दिन नमिल्ने भन्दै उहाँले डिलरबाटै उपभोक्ता ठगिने गरेको र बजारको मंहगी बृद्धि नियन्त्रणमा सरकारी निकायले चासो नदिदाँ बजारमा बेतिथि बढेको बताउनु भयो ।