
काठमाडौं, २३ असोज । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमाल कांग्रेसकै पुरानो नेता भएकाले प्रधानमन्त्रीले मन्त्रीको जिम्मेवारी दिएको स्पष्ट पार्नुभएको छ । रिपोर्टर्स क्लबले आयोजनामा गरिएको साक्षात्कारमा मन्त्री रेग्मीले कसैको नाता पर्न जानु अस्वभाविक नभएको उल्लेख गर्दै उहाँँले पार्टीलाई पुर्याउनुभएको योगदानको कदर गर्दै मन्त्रीको जिम्मेवारी दिइएको बताउनु भयो । मन्त्री रेग्मीले वर्तमान सरकारमा महिलाको प्रतिनिधित्व उल्लेखनीय रुपमा हुनु सकारात्मक भएको उल्लेख गर्दै हरेक ठाउँमा एक तिहाइ महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न सकिएमा नेपालमा निकट भविष्यमै महिला प्रधानमन्त्री बन्न सक्ने सम्भावना रहेको बताउनुभयो । उहाँले पार्टीको आगामी १४औँ महाधिवेशनबाट महिलाको प्रतिनिधित्व झनै बलियो र सशक्त हुने विश्वास व्यक्त गर्नुभयो ।