भक्तपुर, श्रावण १० । जिल्लाको चाँगुनारायण नगरपालिका ३ झौखेलस्थित महाँकालबाट यापीभैरव हुँदै सुन्दरथलीको बाटो फराकिलो पार्दा सडकका बीचमा उभिएका छन् सयौं खम्बाले दुर्घटनासमेत बढाएका छन। सडक फराकिलो भए पनि विद्युत तथा टेलिफोनका खम्बा नसारिँदा दुर्घटना बढेको स्थानीयवासीको गुनासो छ । महाँकाल–सुन्दरथली सडकमा खम्बामात्रै होइन, ट्रान्सफर्मरसमेत बाटैमा परेका छन ्। जसले गर्दा बाटोमा हिँड्ने बटुवा पनि असुरक्षित छन् । सडकमै दर्जनौं विद्युतीय खम्बा ठिङ्ग उभिएको महाँकाल–सुन्दरथली सडक प्रतिनिधि बाटोमात्रै हो । भक्तपुर जिल्लाभर धेरै ठाउँमा खम्बा हटाउन दर्जनौं निवेदन आएको नेपाल विद्युत प्राधिकरण भक्तपुर वितरण केन्द्रले जनाएको छ ।
सूर्य्विनायक नगर क्षेत्रबाट मात्रै १७५ वटा खम्बा र एउटा टावरसहितको ट्रान्सफर्मर हटाउन निवेदन परेको परेको छ। त्यस्तै डिभिजन सडक कार्यालयबाट थप ५८४ खम्बा र ११ ट्रान्सफर्मर हटाउन पत्र लेखिएको छ । झौखेलकै व्यासी–कमलपोखरी–थापागाउँ–गाविस भवन सडक खण्डमा पनि दर्जनौं खम्बा सडकमाझ देखिन्छन्। त्यस्तै चाँगुनरायण नगरपालिकाकै दुवाकोट–केएमसी–दुवाकोट हाइट हुँदै वडा कार्यालय जाने बाटोमा पनि दर्जनौं खम्बामा सडक विस्तार भएका छन् ।