
-रमेश गिरी
भक्तपुर, २० कात्तिक : सूर्यविनायक नगरपालिका–८ भद्रबस्तीबाट टार जाने पुलको निर्माण शुरु भएको छ । कूल रु. एक करोड २३ लाखको लागतमा निर्माण शुरु भएको उक्त पुलको प्रतिनिधीसभाका सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले शिलान्यास गर्नुभयो ।
कार्यक्रममा सांसद बस्नेतले चाहने हो भने जनप्रतिनिधीले आफ्नो ठाउँको विकास गर्न सक्छन् भन्ने उदाहरण भक्तपुरबाट लिन सकिने बताउनु भयो । उहाँले भन्नुभयो, “राजधानीसँग जोडिएको भक्तपुरको विकास सधै पछाडि परेको थियो, भक्तपुर आउँन पनि मान्छेहरु नाक खुम्च्याउथे, विगत २० वर्षमा भक्तपुरमा हुन नसकेको विकास यो चारवर्षको अबधीमा हामीले गरेर देखायाँै, अहिले भक्तपुरमा घडेरी किन्नेको ओइरो छ, विकासमा भक्तपुरले कोल्टो फेरेको छ ।”
हनुमन्ते करिडोर निर्माण, मेलम्चीको पानी छुटाएको भक्तपुरमा पहिलो चरणमै पानी ल्याउन र २ नं. क्षेकका लागि पानी ट्यांकी निर्माण गर्न, अरनिको राजमार्गलाई बत्ति राखेर उज्यालो बनाउन पहिलो चरणमा जुडिबुटीदेखि राधेराधेसम्म सोलार बत्ति जडान गर्न, अरनिको राजमार्गलाई हरियाली बनाउन सफल भएको उहाँको भनाइ थियो । सांसद बस्नेतले भन्नुभयो, ” भक्तपुरका १९ भन्दा बढी सडक, १८ वटा पुल निर्माण भईरहेका छन्, केही सडक र पुल ठेक्का लागेका छन्, मेरो पहलमा आएको बजेटको काम प्रभावकारी भयो कि भएन भनेर म सधै विकासको अनुगमन आफै गर्छु, भक्तलपुरमा १० अर्ब रुपैयाको बजेटमा खानेपानी, सडक, ढल, पुल, करिडोर, पर्खाल लगायतका क्षेत्रमा कामहरु भईरहेको छ ।“
उहाँले अघिल्लो सरकारले भक्तपुरको विकासमा छुट्याएको बजेट नकाट्न वर्तमान सरकारलाई आग्रह गर्दै विकास सबैका लागि भएकाले विकासमा एक्यबद्धता र राजनीतिमा प्रतिस्पर्धा गर्नुुपर्ने बताउनुभयो । उहाँले कोटेश्वरको जाम मुक्त बनाउन सुरुङ्ग मार्ग निर्माण गर्ने, बैकल्पिक सडकको विस्तार गर्ने, अबको पाँचवर्षमा राष्ट्रिय प्राणी उद्यान संचालनमा ल्याउने, भक्तपुरमा रंगशाला निर्माण गर्ने, अन्तराष्ट्रिय सभा हल निर्माण गर्ने, गाउँ गाउँका सडकलाई पक्कि बनाउने, धार्मिक पर्यटनको विकास गर्ने, बन्जी जम्पदेखि प्याराग्लाईडिङ्गसम्म संचालन गर्ने जस्ता ठूला आयोजनाहरु पुरा गर्ने आफ्नो योजना रहेको कार्यक्रममा बताउनुभयो ।
त्यसअवसरमा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले जनप्रतिनिधी आए पछि जनताको चाहना र आवश्यकताको पहिचान गर्दै काम गर्न सफल भएको भन्दै सूर्यविनायक नगरपालिका क्षेत्रको विकासले मुहार फेरेको बताउनुभयो । उहाँले गाउँ गाउँमा पक्कि सडक पुरयाउन सफल भएको, धार्मिक तथा पर्यटकीय स्थलको विकास गर्न सफल भएको बताउदै सडक, पुल, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्यको क्षेत्रमा नगरपालिकाले चार वर्षमै जनताले सोचे भन्दा बढी विकास गर्न सफल भएको चर्चा गर्नुभयो । नगर प्रमुख थापाले अबको बाँकी कार्यकाल आफूले शुरु गरेका अधूरा काम सम्पन्न गर्ने र चालू आ.ब.मै सम्पन्न गर्न पिकने साना योजनाहरुको विकासमा बजेट खर्चिने बताउनुभयो ।
कार्यक्रममा वडा नं. ८ का वडाध्यक्ष किरण थापाले ग्रामिण चक्रपथ जोड्ने उक्त पुल गुणस्तरीय रुपमा बन्नु पर्नेमा जाृड दिदै जतिसक्दो छिटो पुल निर्माण सम्पन्न गरेर आगामी निर्वाचनमा भोट माग्न जादा यहीँ पुलबाट हिड्न सकिने गरि छिटो निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो ।
उहाँले सिपाडोलमा भएको विकासको चर्चा गर्दै भन्नुभयो, “चार वर्षको अन्तरालमा ६ मिटर चौडा सडक १२ किलोमिटर, ८ मिटर चौडा सडक ८ किलोमिटर, १२ मिटर चौडा सडक १० किलोमिटर बनिसकेको छ, ८ किलोमिटर सडक त कालो पत्र गरिसकेका छौँ ।” वडाध्यक्ष थापाले शान्ति निकेतन माध्यामिक विद्यालय निर्माण सम्पन हुने क्रममा रहेको बताउदै १ करोड १० लाख रुपैयाँ बजेटमा ८ कोठे भवन निर्माण भइ सकेको र अहिले यही स्कुलमा ४ करोड ९७ लाख रुपैयाँको लागतमा १२ कोठे भवन बनिरहेको बताउनु भयो ।
चखु खोला पुल, भ्याली पाटीबाट भटराई टोल जाने पुल सम्पन्न र तेश्रो पुल आज शिलान्यास गरिएको उहाँले जानकारी दिनुभयो । सांसद महेश बस्नेत संरक्षक रहेको पाटी भञ्याङस्थित सरस्वती विद्यालयमा मानवीय आस्था नेपालको सहयोगमा एउटा भवन बनेको र डिआईपिएलयूले दोश्रो भवन बनाएको उहाँले बताउनु भयो । त्यस्तै सिपाडोलकै गणेश माध्यामिक विद्यालयमा आठ करोड २९ लाखको लागतमा २१ कोठे भवन सुविधा निर्माणका लागि केही दिनमै शिलान्यास हुने भन्दै उहाँले हरेक क्षेत्र समेटेर विकासका पूर्वाधार तयार गरेको बताउनु भयो ।
वडाध्यक्ष थापाले आम सिपाडोलबासीको चाहना के छ त्यो चाहनालाई बुझेर विकासको पूर्वाधार तयार गरिरहेको बताउदै अहिले घ्याम्पेडाडाबाट पाटी भञ्याड जाने बाटो र डोलेश्वरबाट मालीगाउँ जाने ८ मिटर सडक बनिसकेको बताउनु भयो । जगातीबाट डोलेश्वरसम्मको बाटो कालोपत्र भइसकेको बताउदै उहाँले लुथाबाडबाट दार्जलिड हाइटहुदै चुनदेवीसम्मको बाटोमा कालो पत्र सकिएको, सूर्यविनायक चोकबाट गणेश मन्दिरसम्म आठ मिटरको बाटो कालोपत्र भइसकेको बताउनु भयो ।
त्यस्तै डोलेश्वरबाट पलासेि जाने ८ मिटरको बाटो बनाएर कालोपत्र भइसकेको छ भन्दै उहाँले सिपाडोलमा पाटी भञ्याडबाट माथिल्लो नैचाल जाने ८ मिटर बाटो नगरपालिकाको एक करोडको लागतमा सडक नाली निर्माण गरेर ग्राइबेल सकिएको र अहिले पनि २० लाख रुपैया नगरपालिका र ८० लाख प्रदेश सरकारको बजेट विनियोजन गरेर कालो पत्र हुने क्रममा रहेको बताउनु भयो । घ्याम्पे्डाडाबाट पाटी भञ्याड जाने झोलुडे पुलको टेण्डल लाग्दैछ भन्दै उहाँले त्यस पुलबाट बञ्जि जम्प गराएर आन्तरिक र बाह्यक पर्यटकको आकर्षणको केन्द्र बनाउने गरि विकास गर्ने तयारी गरेका छौ ।
वडाध्यक्ष थापाले भन्नुभयो, “हामी आइसके पछि अधूरो रहेको डोलेश्वर मन्दिरको संरचना निर्माणमा महेश बस्नेतको सांसद विकास कोषबाट एक करोड, नगरपालिकाबाट एक करोड गरेर दुई करोडमा मन्दिर निर्माण तथा चौबन्दी सत्तल निर्माण पुरा गर्ने काम गरे्का छौ ।” केपी ओली प्रधानमन्त्री हुँदा छुट्याएको ६ करोड रुपैयाँको डोलेश्वरबाट पाटी भञ्याड जाने बाटोको काम सुरु भइसकेको बताउदै उहाँले अहिलेको सरकारले टेण्ढर लागिसकेको बजेट रोकिदिदाँ ८ मिटरको बाटो पुरा गर्न समस्या भएको बताउनु भयो । उहाँले रोकिएको बजेट छिटो निकासाका लागि मन्त्रालय धाइरहेको उहाँले बताउनु भयो ।