
काठमाडौं, २२ कार्तिक ।
यस वर्षको तिहारमा १४ करोड ९० लाख ७५ हजार रुपैयाँ बराबरको माला बिक्रि भएको छ । तिहारमा करिब १२ करोड ७० लाख ५० हजार रुपैयाँको सयपत्री, १ करोड ६७ लाख ७५ हजार रुपैयाँको मखमली र ५२ लाख ५० हजार रुपैयाँको गोदावरी फूलका माला खपत भएको फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले जानकारी दिएको हो ।
तिहारमा करिब १८ लाख ६५ हजार सयपत्री, मखमली र गोदावरी फूलका माला खपत हुने अनुमान रहे पनि बढी प्रयोगमा आएको फ्यानका अध्यक्ष मीनबहादुर तामाङले बताउनुभयो । यसमध्ये १८ लाख १५ हजार सयपत्री, ३ लाख ५ हजार मखमली र १५ हजार गोदावरी फूलका माला प्रयोग भएका छन् ।
साथै यस अवधिमा नेपालबाट फूल निर्यात पनि भएको फ्यानको तथ्यांकमा उल्लेख छ । खपत भएका मालामध्ये बजार हिस्साको करिब ३० प्रतिशत भारतीय सयपत्रीको मालाले ओगटेको उहाँ भनाइ रहेको छ । बजारमा भारतीय सयपत्री फूलका प्रतिमाला ५० रुपैयाँमा बिक्री भएको थियो । स्वदेशी फूलको तुलनामा २०–३० रुपैयाँसम्म सस्तो पर्न गएकाले करिब १५ प्रतिशत सयपत्री फूलको माला फाल्नुपरेको पनि उहाँले बताउनुभयो।