
काठमाडौं,२६ मंसिर ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकिएको उमेर समूहमा रहेका बालबालिकालाई खोप लगाउने तयारी सुरु गरेको छ । केही दिनभित्र १२ वर्षभन्दा माथिका बालबालिकालाई अमेरिकाको मोडेर्ना खोप लगाउने तयारी भएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारी जानकारी दिनुभयो । बालबालिकालाई देशव्यापी रूपमा खोप लगाउन सरकारले चार चरणमा माग गरेको २० लाख मात्रा खोप तयारी अवस्थामा रहेको उहाँले बताउनुभया । यसैगरी रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई थप खोप (बुस्टर) लगाउन सरकारलाई सुझाव दिइएको छ । प्रवक्ता अधिकारीले नेपालमा भाषिक रूपमा बुुस्टर खोप भनेर सिफारिस नगरे पनि वृद्धवृद्धा, दीर्घरोगी र रोग प्रतिरोधात्मक क्षमता कम भएका नेपालीलाई थप खोप लगाउनु पर्छ भनेर मन्त्रालयको सुझाव समितिले सरकारलाई सिफारिस गरेकोे छ । थप खोप निःशुल्क हुने वा नहुने भन्नेबारेमा भने सरकारले छलफल भने गरेको छैन ।
सरकारले सञ्चालन गरेको खोप अभियानअन्तर्गत शनिबारसम्म ४६ प्रतिशतले पूणर् र ५६ प्रतिशतले आंशिक खोप प्राप्त गरेको पाइएको छ । नेपालले खोप अभियान सञ्चालन गरेयता हालसम्म २ करोड ९४ लाख ५३ हजार ७ सय ३० कोरोनाविरुद्धको खोपको मात्रा प्राप्त भइसकेको छ । यसमध्ये २ करोड ५ लाख १ हजार ८ सय १० खोप प्रयोग भइसकेको छ ।
हालसम्म १ करोड १२ लाख ६० हजार ५ सय ४९ लाई आंशिक र ९२ हजार ४२ हजार २ सय ६१ लाई पूणर् मात्राको खोप लगाइसकिएको मन्त्रालयले जनाएको छ ।
सरकारले अन्तर्राष्ट्रिय क्षेत्रमा खोप अभियानका लागि काम गर्दै आएको १० संस्थाको छाता संगठन गाभी कोभ्याक्स सुविधा, कोभिड–१९ खोप उत्पादक मुलुक, उत्पादक कम्पनीहरू तथा तिनका वितरकसँंग खोपको प्राप्ति तथा खरिद गर्दै आएको छ ।
छिमेकी मित्र राष्ट्र भारत, चीन, अमेरिका, भुटान र बाँकी गाभी कोभ्याक्स सुविधाबाट सहयोग स्वरूप प्राप्त भएका छन् । विश्व स्वास्थ्य संगठनले २०२० को डिसेम्बरमा तत्काल प्रयोगका लागि बायोएन टेक कम्पनीको फाइजर, २०२१ को फेबु्रअरीमा अक्स्फोर्डको अष्ट्राजेनिका, सिरमा इन्स्टिच्युट अफ इन्डियाको कोभिसिल्ड र जोन्सन एन्ड जोन्सनको खोप पहिलो चरणमा प्रयोग अनुमति दिएको थियो । पछिल्लो समय अमेरिकामा उत्पादन भएका मोडेर्ना खोप पनि नेपालमा प्रयोग हुँदै आएको छ । केही दिनभित्र १२ वर्षमाथिका बालबालिकालाई सो खोप लगाउने सरकारको तयारी रहेको छ ।